`

संसद् मार्चमा प्रहरीसँग झडप, ‘कक्रोच जनता पार्टी’सँग वार्ताका लागि सरकार तयार

Nepal One HD ४ साउन २०८३ १५:५३
विश्व

काठमाडौं। भारतको राजधानी नयाँदिल्लीमा शिक्षा प्रणालीमा सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आयोजित ‘संसद् मार्च’ सोमबार तनावग्रस्त बनेको छ। संसद् भवनतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई सुरक्षा निकायले संसद् मार्ग प्रहरी कार्यालय बाहिर रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

प्रत्यक्षदर्शीका अनुसार संसद् मार्गतर्फ अघि बढ्ने प्रयास गरिरहेका सयौँ विद्यार्थी र युवा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूलाई घटनास्थलमै प्राथमिक उपचार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याससमेत प्रहार गरेको थियो।

प्रदर्शनकारीहरूलाई संसद् भवनबाट करिब २०० मिटर दूरीमा रहेको रायसिना रोड क्षेत्रमा रोकिएको छ। संसद्को मनसुन अधिवेशन चलिरहेका बेला संसद् परिसरको सुरक्षा कडा बनाइएको थियो। यही कारण देखाउँदै दिल्ली प्रहरीले संसद् मार्चको अनुमति नदिएको जनाएको छ।

यसैबीच आन्दोलनको नेतृत्व गरिरहेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले सरकार वार्ताका लागि तयार भएको जनाएको छ। आन्दोलनका दुई जना प्रवक्ताले केन्द्रीय स्वास्थ्यमन्त्री जे. पी. नड्डासँग भेट गरी आन्दोलनका मागहरू औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ। वार्ताबाट शिक्षा प्रणाली सुधारका विषयमा ठोस निष्कर्ष निस्किने अपेक्षा आन्दोलनकारीहरूले गरेका छन्।

दिल्ली प्रहरीको हस्तक्षेपका कारण मण्डी हाउस मेट्रो स्टेसनबाट जन्तरमन्तरतर्फ अघि बढिरहेका सयौँ विद्यार्थी र युवा कार्यकर्तालाई पनि रोकिएको थियो। सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै दिल्ली मेट्रो रेल निगमले संसद् मार्चअघि पाँच वटा मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरेको थियो। केही समयपछि सेन्ट्रल सेक्रेटरिएट र राजीव चौक मेट्रो स्टेसनका प्रवेशद्वार पुनः खोलिए पनि सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ।

उता, करिब तीन सातादेखि आमरण अनशनमा रहेका अभियन्ता सोनम वाङचुकले सोमबार आफ्नो अनशन अन्त्य गर्न सक्ने संकेत दिएका छन्। उनले सरकारले शिक्षा प्रणालीमा देखिएका कमजोरीको जिम्मेवारी स्वीकार गर्न वा सांसदहरूले संसद्मा यो विषय गम्भीर रूपमा उठाउने प्रतिबद्धता जनाए आफू अनशन तोड्न तयार रहेको बताएका छन्।

भारतमा पछिल्ला महिनाहरूमा मेडिकल कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षाका प्रश्नपत्र चुहिने घटनापछि शिक्षा प्रणालीमाथि व्यापक प्रश्न उठिरहेका छन्। यही असन्तुष्टिलाई आधार बनाएर सुरु भएको ‘कक्रोच’ आन्दोलन अहिले विद्यार्थी, बेरोजगार युवा र विभिन्न नागरिक समूहको साझा अभियानका रूपमा विस्तार भएको छ।

सरकार र आन्दोलनकारीबीच हुने भनिएको वार्ताले आन्दोलनको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ। तर आन्दोलनकारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

(‘द हिन्दु’ को सहयोगमा तयार पारिएको)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *