`

कोलकाताबाट ४० कन्टेनरसहितको कार्गो रेल विराटनगर आइपुग्यो

Nepal One HD ४ साउन २०८३ १९:५६
अर्थ समाचार

विराटनगर, ४ असार : भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ । खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर यही साउन १ गते हिँडेको ४० कन्टेनरसहितको सो कार्गाे रेल आज यहाँ आइपुगेको हो ।

स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका थिए ।नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।

यसअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेललाई बिदाइ गर्नुभएको विराटनगर भन्सार कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।यो रेल सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि एकैपटकमा ४० फिटका ४५ वटा कन्टेनरहरू रेलमार्फत विराटनगर आइपुग्ने बताइएको छ ।

सडकमार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यूनलागत हुनुका साथै करिब २४ घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ ।
वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यसायी खुसी देखिन्छन् । यसअघि विराटनगरमा कार्गो रेल २०८० जेठ १८ गते आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *