ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व सङ्कलन
गण्डकी – गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ । प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रहरी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट जरिवाना बापत उक्त रकम उठेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले सोही अवधिमा १९ वटा सवारी दुर्घटना भएको जानकारी दिए। दुर्घटनामा परी २१ जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका थिए । प्रहरीले असारमा प्रदेशका विभिन्न जिल्लाबाट ५४ थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ ।
सोही महिनामा ११६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले बताए । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रदिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।
पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि प्रहरीले सम्बन्धित जिल्लाका अदालतमा बुझाएको थियो । प्रतिवादीबाट २९ वर्ष आठ महिना १७ दिन कैद र रु दुई करोड ५९ लाख आठ हजार ६३८ बिगो रकम असुल गरिएको छ ।
