`

हिरासतबाट चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी, हास्य कलाकार नारद खतिवडासहित तीन पक्राउ

Nepal One HD ६ साउन २०८३ १४:३९
प्रमुख खबर

काठमाडौं। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने र नियन्त्रणमा रहेका राहदानीसमेत फिर्ता गराइदिने भन्दै ठगी गरेको आरोपमा हास्य कलाकार नारदप्रसाद खतिवडासहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि हिरासतमा रहेका चिनियाँ नागरिकलाई प्रभाव प्रयोग गरेर छुटाइदिने आश्वासन दिँदै रकम असुलेको आरोप लागेको छ।

प्रहरीका अनुसार कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिक र विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानी झिकाइदिने भन्दै उनीहरूले करिब ९ लाख रुपैयाँ ठगी गरेका थिए।

यस प्रकरणमा पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका–८ घर भई हाल ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा, नवलपरासी पश्चिमको सुनौल नगरपालिका–७ तर्गौलीका ५९ वर्षीय गोपालकुमार गुरुङ र सर्लाही लालबन्दी नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने ५२ वर्षीय हास्य कलाकार नारदप्रसाद खतिवडा रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *