चीन-रुसलाई ट्रम्पको चेतावनी
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस हाल इरानसँगको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नभएको आफूलाई विश्वास रहेको बताएका छन्। तर, ती दुई शक्तिराष्ट्रले युद्धमा हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले हालैको भेटमा कुनै पनि परिस्थितिमा इरानलाई हतियार उपलब्ध नगराउने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्। उनले उक्त प्रतिबद्धता चिनियाँ कम्पनीहरूमा समेत लागू हुने उल्लेख गर्दै सी जिनपिङमाथि आफूलाई विश्वास रहेको बताएका छन्।
ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार बिक्री नगर्ने आश्वासन दिएका छन्। यद्यपि, चीन र रुसमध्ये कसैले पनि युद्धमा प्रत्यक्ष हस्तक्षेप गरे त्यसले क्षेत्रीय मात्र होइन, अन्तर्राष्ट्रिय सुरक्षा अवस्थालाई समेत जटिल बनाउने उनको भनाइ छ।
यता चीनले भने इरानको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको पक्षमा आफ्नो समर्थन दोहोर्याएको छ। चीनका विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा बेइजिङले इरानको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने बताएका छन्। उनले पश्चिम एसियामा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
इरानी विदेशमन्त्री अराघचीले पनि इरान वार्ताका लागि तयार रहेको तर द्वन्द्वलाई थप चर्काउने पक्षमा नरहेको बताएका छन्।
ट्रम्पले अमेरिका र इरानबीच संवादको ढोका अझै खुला रहेको उल्लेख गर्दै इरान वार्तामा आउन चाहे आफू सुन्न तयार रहेको बताए। तर, इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने अमेरिकी नीति यथावत् रहने उनले स्पष्ट पारे। अमेरिकी सैन्य कारबाहीले इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबीसमेत उनले गरेका छन्।
युक्रेन युद्धबारे बोल्दै ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो संवाद जारी रहेको जानकारी दिए। अमेरिकाले युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार बिक्री नगरे पनि नेटो सदस्य राष्ट्रहरूलाई बिक्री गर्ने गरेको र त्यसपछि ती हतियार कहाँ प्रयोग हुन्छन् भन्ने उनीहरूको जिम्मेवारी हुने उनको भनाइ छ।
यसैबीच, अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्स का अनुसार टर्कीमा सम्पन्न नेटो सम्मेलनका क्रममा ट्रम्पमाथि इरान समर्थित समूहबाट सम्भावित आक्रमण हुन सक्ने सुरक्षा सूचना प्राप्त भएको थियो। त्यसपछि अमेरिकी सिक्रेट सर्भिसले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै स्वदेश फर्कने क्रममा ट्रम्पलाई विमान परिवर्तन गर्न सुझाव दिएको जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सोमबार अमेरिका जाने भएका छन्। इरानसँग युद्ध सुरु भएपछि ट्रम्प र नेतन्याहुबीच हुने यो पहिलो प्रत्यक्ष भेट हुनेछ। दुवै नेताबीच मध्यपूर्वको सुरक्षा अवस्था, इरानसँगको तनाव र आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
इरान-अमेरिका तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढ्न थालेको छ। मे महिनापछि पहिलो पटक ब्रेन्ट क्रुडको मूल्य १०० अमेरिकी डलर प्रतिब्यारेल नाघेको छ। विश्लेषकहरूले युद्ध लम्बिँदै गए ऊर्जा बजारमा थप अस्थिरता आउन सक्ने बताएका छन्।
यसैबीच, इरानले शुक्रबार कुवेतमा रहेका अमेरिकाका तीन सैन्य अखडा क्याम्प अरिफजान, क्याम्प दोहा र क्याम्प अदैरीलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले किर्गिस्तानमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) का विदेशमन्त्रीहरूको बैठकमा बोल्दै इरान कुनै पनि अमेरिकी दबाब वा धम्कीअगाडि नझुक्ने बताएका छन्।
उता अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले पश्चिम एसियामा आफ्नो सैन्य तयारीलाई निरन्तरता दिएको संकेत दिएको छ।
सेन्टकमले सामाजिक सञ्जालमार्फत अमेरिकी नौसैनिकहरूले एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमलाई केसी–१३०जे सुपर हरक्युलिस विमानमा लोड गरिरहेको तस्बिर सार्वजनिक गर्दै क्षेत्रीय सैन्य तयारी जारी रहेको जनाएको छ।
