`

चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय

Nepal One HD ९ साउन २०८३ २२:३२
शिक्षा

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ। पहिलो वर्ष चारवटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागिएको हो।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सामा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो। ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदै गरेको र पशु चिकित्साका विदेशी विद्यार्थीसँग १० हजार अमेरिकी डलर तथा अन्य सङ्कायका विद्यार्थीसँग चार हजार डलर शुल्क लिने निर्णय गरिएको उनले बताएका छन्।

विश्वविद्यालयले अहिले खुलाउन लागेको प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनु नपर्ने जनाइएको छ। भर्नाका लागि कस्ता विदेशी विद्यार्थी योग्य हुने भन्ने विषय कार्यविधिमा समावेश हुने उपकुलपति कट्टेलले बताएका छन्। यसअघि मुलुकका अन्य विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिए पनि कृषि विश्वविद्यालयले पहिलोपटक भर्ना लिन लागेको हो।

विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले कुनै पनि विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरनिर्धारणका लागि तोकिने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थी अध्यापन गराउनु पनि एक भएकाले भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटो अवधिको अनुसन्धान कार्यक्रम एवं विदेशी विद्यार्थीका लागि कक्षा सञ्चालन गर्दै आए पनि उपाधि प्राप्त गर्ने गरी भर्ना लिएर अध्ययन-अनुसन्धान गराएको थिएन। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधिको पठनपाठन गराउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *