‘बेलायतको हितलाई प्राथमिकतामा’ राख्दै ट्रम्पसँगको सम्बन्धलाई अघि बढाइने : बर्नहम
लन्डन। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बनर्हमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्दा ‘फरक मत राख्न सक्ने’ र ‘बेलायतको हितलाई पहिलो प्राथमिकता दिने’ बताउनुभएको छ।
शुक्रबार बीबीसीसँग गरेको अन्तर्वार्ताका केही अंश आइतबार सार्वजनिक गर्दै बर्नहमले सोमबार कियर स्टार्मरलाई प्रतिस्थापन गरेर डाउनिङ स्ट्रिट पुगेको केही घण्टामै ट्रम्पसँग गरेको पहिलो फोनवार्ता ‘सौहाद्रपूर्ण’ रहेको बताउनुभयो ।
“अगाडि बढ्दै जाँदा हामी सम्बन्धलाई निरन्तर सुदृढ पार्नेछौं,” सत्तामा आएपछिको पहिलो मिडिया अन्तर्वार्तामा बर्नहमले बीबीसीसँग भन्नुभयो ।
“यो परिवर्तनशील विश्व हो र विकासक्रमअनुसार कुराहरूलाई स्पष्ट रूपमा बोल्नुपर्छ। “म कहिल्यै पनि यो भन्न सक्दिनँ कि म उनबाट फरक मत राख्दिनँ, वा बेलायतका लागि सही रहेको फरक विचार व्यक्त गर्न आवश्यक पर्दैन। म त्यसो गर्नेछु।”
सत्तारुढ लेबर पार्टीका अनुभवी नेता ५६ वर्षीय बर्नहमले सन् २०१७ देखि नौ वर्षसम्म उत्तरी इङ्गल्याण्डको ग्रेटर म्यान्चेस्टरका मेयरको रूपमा काम गर्नुभएको थियो । उहाँले ट्रम्पलाई विश्वास गर्नुहुन्छ वा हुँदैन भन्ने प्रश्नको प्रत्यक्ष जवाफ दिन अस्वीकार गर्नुभयो ।
उहाँले आवश्यकता परेमा अमेरिकी राष्ट्रपतिलाई खुलेर चुनौती दिन पनि ‘अवश्य’ तयार रहेको जोड दिनुभयो । “तपाईंले अरू सबैभन्दा पहिले आफ्नो राष्ट्रिय हितको रक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
“यो काम सही तरिकाले गर्न त्यही चाहिन्छ। म सधैं बेलायतकोे हितलाई पहिलो प्राथमिकतामा राख्नेछु।” सोमबारको फोनवार्तापछि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको थियो, बर्नहम ‘अगाडि ठूलो जिम्मेवारी छ, तर उहाँ त्यसलाई पूरा गर्न सक्षम हुनुहुनेछ।”
उहाँले अमेरिका बर्नहमलाई ‘मद्दत गर्न तयार रहने’ प्रतिबद्धता जनाउनुभयो ।गत महिना ट्रम्पले बर्नहमलाई ‘अत्यधिक उदारवादी’ भनेर आलोचना गर्नुभएको थियो ।
ट्रम्प र स्टार्मरबीच विशेष गरी इरान द्वन्द्वका कारण बिग्रिएको थियो र कहिलेकाहीं तनावपूर्ण सम्बन्ध बन्न पुगेको थियो ।
