सुनसरी घटनामा सरकार गम्भीर बनेन : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सरकार पर्याप्त गम्भीर नदेखिएको टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले यस्तो बैठक सरकारकै तर्फबाट आह्वान हुनुपर्ने बताए। संकटको समयमा सरकारको सक्रिय भूमिका अपेक्षित रहे पनि त्यसो हुन नसकेको भन्दै उनले आश्चर्य व्यक्त गरे।
‘सरकार गम्भीर बनोस्। किन गम्भीर बनेको छैन, थाहा छैन। यो बैठक सरकारले नै बोलाउनुपर्थ्यो। किन बोलाएन, म अचम्मित छु,’ उनले बैठकमा भने।
प्रचण्डले सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त रूपमा सद्भाव र्याली आयोजना गर्नुपर्ने धारणा पनि राखे। सामाजिक संघसंस्था र धार्मिक अगुवाले सुरु गरेको पहल सकारात्मक रहेको उल्लेख गर्दै उनले थप जटिल अवस्था सिर्जना हुन नदिन राजनीतिक दलहरूको भूमिका अझ महत्वपूर्ण हुने बताए।
उनले अगाडी भने ‘दलहरूले पनि सद्भाव र्याली निकाल्दा राम्रो हुन्छ। सामाजिक संघसंस्था र धार्मिक गुरूहरूले त निकालेकै छन्, त्यो सकारात्मक छ। थप जटिल स्थिति आउन नदिन दलहरूको भूमिका आवश्यक छ। यस्तो अप्ठ्यारो बेला सरकारलाई हाम्रो पूर्ण सहयोग हुन्छ।’
