सबै छन् तर छैनन् बालेन र सुधन
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ अनुपस्थित भएका छन्।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा सरकारका तर्फबाट सुरक्षा र शान्ति व्यवस्थाका मुख्य जिम्मेवार मानिने प्रधानमन्त्री र गृहमन्त्री नै उपस्थित नभएपछि त्यसले थप चर्चा पाएको छ।
सुनसरीमा एक जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि सरकारको चौतर्फी आलोचना भइरहेको छ। घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन जारी रहेकाले राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आयोजना गरिएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन्।
बैठकमा सुनसरी घटनाको वस्तुस्थिति, शान्ति–सुरक्षा, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।
