राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच भेटवार्तामा के भयो ?
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारबीच सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा अध्यक्ष विश्वकर्माले दलित समुदायले युगौँदेखि भोग्दै आएको विभेद, बहिष्करण र अन्यायप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम सञ्चालनका लागि सरकारलाई बुझाइने सुझावपत्रबारे सचेतक परियारलाई जानकारी गराएका थिए।
आयोगले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’को बुँदा नम्बर ५ मा दलित समुदायसँग राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने विषय समेटिएकोप्रति सरकारप्रति आभार व्यक्त गरेको छ।
साथै, उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान तथा आयोगका सुझावहरू कार्यान्वयनका लागि आवश्यक नीतिगत र संसदीय सहयोग जुटाउन आयोगले रास्वपासँग आग्रह गरेको छ।
