रास्वपा सांसदको प्रश्न, ‘गोली चलाउने आदेश कसले दियो?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्साना बानुले बल प्रयोग गरेर शान्ति स्थापना गर्न नसकिने भन्दै बारम्बार गोली चलाउने निर्देशन कसले दिइरहेको हो भन्ने प्रश्न सरकारसमक्ष उठाएकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बानुले गोली चलाएर समाजमा शान्ति कायम गर्न नसकिने बरु त्यसले परिस्थिति झनै जटिल र विकराल बनाउने बताइन्।
‘बारम्बार गोली चलाउने निर्देशन कसले र कुन प्रशासनबाट दिइरहेको छ? गोली चलाएर समाजमा र मुलुकमा शान्ति कायम हुन्छ जस्तो मलाई लाग्दैन। यसले झन् ठूलो संकट निम्त्याउँछ,’ उनले भनिन्।
सांसद बानुले बल प्रयोगभन्दा संवाद, सचेतना र सामाजिक सहकार्यबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइन्। उनले प्रशासनले समुदायसँग समन्वय गर्दै सामाजिक चेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने धारणा राखिन्।
उनले आफूहरूलाई संसद्मा पुर्याउने मतदाताले धर्म वा जातका आधारमा नभई नेपाली नागरिकका रूपमा विश्वास गरेर मत दिएको उल्लेख गर्दै राजनीतिक नेतृत्वले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्ने बताइन्।
‘आज हामीलाई यस गरिमामय सदनमा पुर्याउने मतदाताहरू केवल हिन्दु वा केवल मुस्लिम थिएनन्, उहाँहरू सबैभन्दा पहिले नेपाली हुनुहुन्थ्यो। उहाँहरूले धर्म र जातजातिभन्दा माथि उठेर नेपालको भविष्य, विकास, समृद्धि र गाउँ-समाजको हितका लागि हामीमाथि विश्वास गरेर यहाँ पठाउनुभएको हो,’ उनले भनिन्।
सांसद बानुले सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम गर्न सबै राजनीतिक दल, सरकार र प्रशासनले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याइन्।
