संसदमा प्रचण्डले के के भने?
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाले साम्प्रदायिक सद्भावमा असर पर्ने खतरा देखिएको भन्दै सरकारले यसको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे।
प्रचण्डले बोलबम यात्राका क्रममा उत्पन्न विवाद हिंसात्मक घटनामा परिणत हुनु दुःखद भएको उल्लेख गर्दै सुरक्षा निकायले गोली चलाउनै पर्ने अवस्था थियो वा थिएन भन्ने विषयको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। उनका अनुसार घटनाका सबै पक्षको विस्तृत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याइनुपर्छ।
‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ उनले भने, ‘’त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो या थिएन ? समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहिल गरियो या गरिएन ? लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु।’
उनले मुलुकको समग्र राजनीतिक अवस्था सहज नरहेको टिप्पणी गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको बताए। पछिल्ला घटनाक्रमले जनतामा थप असन्तुष्टि र चिन्ता बढाएको उनको भनाइ थियो।
‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो ,’ प्रचण्डले भने, ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन ।’ ‘बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ।
प्रचण्डले सुनसरी र मोरङलगायतका क्षेत्रमा देखिएको तनावलाई संवाद, सहकार्य र राष्ट्रिय एकतामार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरे। साथै, समाजमा विभाजन सिर्जना गर्न खोज्ने प्रवृत्तिविरुद्ध सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।
उनले रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएको कदमको स्वागत गरे पनि यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्री स्वयं अग्रसर भएर नेतृत्व गर्नुपर्ने बताए। प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले परिस्थिति थप चिन्ताजनक बनेको उनको भनाइ थियो।
‘सुनसरी, मोरङ लगायत अन्यत्र जे परिस्थिति देखिएको छ, आम नेपाली जनतालाई अपील गर्न चहन्छु, हाम्रो गौरवशाली परम्परालाई स्मरण गर्दै, यसखालका समस्या जो देखा पर्न खोजेका छन्, तिनको पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घूसपैठ गर्नखोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु,’ दाहालले भने, ‘हिजोमात्रै ढिलैगरी भए पनि रास्वपाको तर्फबाट सभापतिले सर्वदलीय बैठक आह्वान गर्नुभयो र हामी सबैले उहाँ र रास्वपालाई धन्यवाद भन्यौं र साथसाथै हामीले चिन्ता पनि व्यक्त गर्यौं। यस खालको असहज परिस्थितिमा सबैभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधानतः कानुनतः र व्यवहारतः पनि प्रधानमन्त्रीले नै हुन्थ्यो ।’
प्रचण्डले समावेशी लोकतन्त्रसहितको संविधानलाई कमजोर पार्ने वा पुनर्लेखन गर्ने प्रयास भइरहेको हो कि भन्ने आशंका पनि व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
‘यो संविधान जो हजारौंको बलिदानकबाट र धेरै ठूलो त्याग र तपस्याबट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाइ पुनर्लेखन नै गर्न खोजिएको त होइन ? या संविधानलाई कुनै न कुनै रुपमा अझ पछि कमजोर पार्ने उदेश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न आम जनतामा देखा पर्दै गएको छ,’ दाहालले भने.
