ट्रम्पले गरे गाजा सम्झौताको घोषणा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै गाजामा हमास तथा अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति जुटेको दाबी गरेका हुन्। उनले उक्त सम्झौतालाई स्थायी शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार सम्झौता विभिन्न चरणमा कार्यान्वयन हुनेछ। सम्झौताअनुसार हमास तथा अन्य सशस्त्र समूहको निशस्त्रीकरण प्रक्रिया पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने व्यवस्था गरिएको छ।
ट्रम्पले सम्झौता सम्भव बनाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार, इजिप्ट र टर्कीप्रति विशेष आभार व्यक्त गरेका छन्। उनले सम्झौतामा पुग्न सहयोग गर्ने सबै पक्षलाई धन्यवादसमेत दिएका छन्।
ट्रम्पले यसलाई गाजामा जारी युद्ध अन्त्य गर्ने आफ्नो २०-बुँदे योजनाको कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
सम्झौताअन्तर्गत गाजाको सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने योजना रहेको पनि ट्रम्पले उल्लेख गरेका छन्।
ट्रम्पको घोषणासँगै गाजामा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने तथा स्थायी शान्ति स्थापना गर्ने प्रयासमा नयाँ चरण सुरु हुने अपेक्षा गरिएको छ। यद्यपि, सम्झौताको कार्यान्वयन, निशस्त्रीकरण प्रक्रिया र इजरायली सेना फिर्ताको समयसीमालगायत विषयमा थप विवरण सार्वजनिक हुन बाँकी छ।
