रुसी प्रचारको आरोपमा फ्रान्सबाट फेडोरोभालाई निष्कासन आदेश
काठमाडौं। क्रेमलिन समर्थक प्रचार सामग्री फैलाएको आरोपमा फ्रान्स छाड्न आदेश दिइएकी रुसी टेलिभिजन टिप्पणीकार जेनिया फेडोरोभाले सरकारी निर्णयको विरोध गर्दै त्यसलाई ‘सेन्सरसिप’ र ‘राजनीतिक दबाब’ को संज्ञा दिएकी छन्।
फ्रान्सेली सरकारले भने फेडोरोभाले रुसी प्रचार सामग्रीमार्फत फ्रान्सको मौलिक राष्ट्रिय हितमा आघात पुर्याउने प्रयास गरेको आरोप लगाएको छ।
फेडोरोभाले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै सरकारको आधिकारिक धारणासँग फरक विचार राख्ने व्यक्तिलाई दबाउने प्रयासस्वरूप आफूविरुद्ध कारबाही गरिएको दाबी गरेकी छन्। आफूलाई अहिले निशाना बनाइए पनि भविष्यमा फरक मत राख्ने अन्य व्यक्तिले समेत यस्तै कारबाही भोग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसै साता फेडोरोभालाई देश छाड्न आदेश दिएका थिए। उनका अनुसार फेडोरोभाले रुसी प्रचार सामग्रीमार्फत फ्रान्सको मौलिक राष्ट्रिय हितविरुद्ध काम गरेको आरोप छ।
४५ वर्षीया फेडोरोभा रुसी सरकारी सञ्चारमाध्यम आरटी को फ्रान्सेली सेवाकी पूर्वप्रमुख हुन्। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फ्रान्सले आरटीको प्रसारणमा प्रतिबन्ध लगाएको थियो।
हाल फेडोरोभा फ्रान्सेली उद्योगपति भिन्सेन्ट बोलोरेसँग सम्बन्धित सञ्चारमाध्यम समूहमा टिप्पणीकारका रूपमा कार्यरत छिन्।
फेडोरोभाले आफूविरुद्ध आपत्कालीन कानुनी प्रक्रियाअन्तर्गत निष्कासन आदेश जारी गरिएको बताएकी छन्। मुद्दासँग परिचित एक स्रोतका अनुसार आदेशबारे जानकारी पाएपछि उनलाई निगरानीमा समेत राखिएको छ।
फ्रान्सेली वित्त मन्त्रालयले हस्तक्षेपसम्बन्धी सम्भावित नयाँ गतिविधि रोक्न बनाइएको कानुनी व्यवस्थाअन्तर्गत फेडोरोभाको सम्पत्ति छ महिनाका लागि रोक्का गरिएको जनाएको छ।
सरकारको निर्णयविरुद्ध फेडोरोभाले कानुनी चुनौती दिने तयारी गरेकी छन्। उनले आफ्ना कानुनी प्रतिनिधिमार्फत निष्कासन आदेश र सम्पत्ति रोक्का गर्ने निर्णय दुवैलाई अदालतमा चुनौती दिने बताएकी छन्।
उनका वकिल इम्मानुएल पिभ्निकाले फेडोरोभा आफूविरुद्ध सञ्चालन भइरहेको ‘निरन्तर अभियान’ को सिकार भएको दाबी गरेका छन्।
फेडोरोभा कार्यरत सञ्चारमाध्यम समूहले पनि सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै निष्कासन आदेशलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भनेको छ।
यता, गलत सूचना तथा दुष्प्रचारको अध्ययन गर्दै आएका विज्ञहरूले भने फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि फेडोरोभाको सम्भावित प्रभावबारे यसअघि नै चिन्ता व्यक्त गर्दै आएका थिए।
रुससँग सम्बन्धित सञ्चारमाध्यम र प्रचार संयन्त्रले फ्रान्ससहित युरोपेली मुलुकको राजनीतिक वातावरणमा प्रभाव पार्न सक्ने भन्दै पश्चिमी देशहरूले पछिल्ला वर्षहरूमा रुसी प्रचार र गलत सूचनामाथि निगरानी बढाउँदै आएका छन्।
फेडोरोभामाथिको पछिल्लो कारबाहीले भने राष्ट्रिय सुरक्षाका नाममा विदेशी प्रचार नियन्त्रण गर्ने सरकारी अधिकार र अभिव्यक्ति स्वतन्त्रताबीचको सीमाबारे फ्रान्समा नयाँ बहस सुरु गराएको छ।
