साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको भीड
काठमाडौं। साउन महिनाको तेस्रो सोमबारका अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य भीड लागेको छ। नेपालका विभिन्न तराई जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजन बिहानैदेखि सुन्दरीजल पुगेका हुन्।
सुन्दरीजलस्थित पवित्र जलस्रोतमा स्नान गरेपछि भक्तजनले कलशमा जल भरेका छन्। त्यसपछि भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरतर्फ प्रस्थान गरेका छन्।
साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्पराअनुसार भक्तजनले प्रत्येक सोमबार सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा अर्पण गर्ने गर्छन्।
बोलबम यात्राका कारण सुन्दरीजलदेखि पशुपतिनाथसम्मको मार्गमा भक्तजनको चहलपहल बढेको छ। हातमा कलश र मुखमा ‘बोलबम’को जयघोषसहित भक्तजन पदयात्रामा सहभागी भएका छन्।
साउनको सोमबार शिव मन्दिरमा जल चढाउने धार्मिक विश्वासका कारण यस अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शिवालयमा समेत भक्तजनको भीड बढेको छ।
तस्बिरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी














