सौर्यमण्डल जन्मिँदै गरेको ‘दृश्य’ भेटियो
काठमाडौं। खगोलविद्हरूले पहिलोपटक नवगठित ताराको वरिपरि ग्रह निर्माणको अत्यन्त प्रारम्भिक चरण सुरु भएको प्रत्यक्ष प्रमाण फेला पारेका छन्। वैज्ञानिकहरूका अनुसार यो खोजले ग्रह निर्माणको सुरुवाती प्रक्रिया बुझ्न नयाँ ढोका खोलेको छ।
अनुसन्धानकर्ताहरूले पृथ्वीबाट करिब १ हजार ३ सय प्रकाशवर्ष टाढा रहेको एचओपीएस-३१५ नामक युवा ताराको वरिपरि ग्रह निर्माणका लागि आवश्यक पदार्थ ठोस बन्न थालेको प्रमाण फेला पारेका हुन्। नेदरल्यान्ड्सको लाइडेन विश्वविद्यालयको नेतृत्वमा गरिएको यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल नेचरमा प्रकाशित भएको छ।
एचओपीएस–३१५ ओरायन तारामण्डलको दिशामा रहेको एल-१६३० नामक आणविक ग्यासीय बादलमा अवस्थित छ। यो ओरायन नेबुलाभित्र भने पर्दैन। नयाँ तारा बन्ने क्रममा त्यसको वरिपरि ग्यास र धुलोको बाक्लो चक्र बन्ने गर्छ। यही चक्रलाई वैज्ञानिकहरूले प्रोटोप्लानेटरी डिस्क भन्छन्, जहाँ ग्रह निर्माणको प्रक्रिया अघि बढ्छ।
अध्ययनकी प्रमुख लेखक तथा लाइडेन विश्वविद्यालयकी प्राध्यापक मेलिसा म्याक्लुरका अनुसार सूर्यबाहेक अर्को ताराको वरिपरि ग्रह निर्माण सुरु हुने सबैभन्दा प्रारम्भिक क्षण पहिलोपटक पहिचान गरिएको हो।
अध्ययनकी सहलेखक तथा पर्ड्यु विश्वविद्यालयकी प्राध्यापक मेरेल भान ‘ट होफले यो प्रणालीलाई प्रारम्भिक अवस्थाको ‘शिशु सौर्यमण्डल’सँग तुलना गरेकी छन्। उनका अनुसार अहिले एचओपीएस-३१५ वरिपरि देखिएको अवस्था हाम्रो सौर्यमण्डलको जन्मकालमा भएको प्रक्रियासँग मिल्दोजुल्दो छ।
ग्रह बन्नुअघि के हुन्छ ?
ग्रह निर्माणको सुरुवात अत्यन्त सूक्ष्म धुलो तथा खनिजका कणबाट हुन्छ। नयाँ तारा जन्मिएपछि त्यसको वरिपरि रहेको डिस्कमा अत्यधिक तापक्रम हुन्छ। समयसँगै डिस्क चिसिँदै जाँदा ग्यासमा रहेका पदार्थ ठोस खनिजका रूपमा जम्न थाल्छन्।
त्यसपछि यी सूक्ष्म कणहरू एकअर्कासँग ठोक्किँदै र जोडिँदै ठूला पिण्ड बन्न थाल्छन्। क्रमशः यिनै पिण्डबाट प्लानेटेसिमल अर्थात् ग्रह निर्माणका प्रारम्भिक ठोस पिण्ड बन्ने र त्यसपछि ग्रह, चन्द्रमा तथा क्षुद्रग्रह निर्माण हुने वैज्ञानिकहरूको बुझाइ छ।
यसअघि खगोलविद्हरूले युवा ताराहरू वरिपरि बृहस्पति आकारका नवगठित ग्रह भएका प्रणाली अवलोकन गरिसकेका थिए। तर ग्रह निर्माणको पहिलो ठोस चरणमै पुग्नुअघि हुने खनिज कणको निर्माण प्रक्रियाको प्रत्यक्ष प्रमाण भने अहिलेसम्म भेटिएको थिएन।
वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डलको प्रारम्भिक इतिहास बुझ्न उल्कापिण्डको अध्ययन गर्दै आएका छन्। यस्ता उल्कापिण्डमा सिलिकन मोनोअक्साइडसँग सम्बन्धित खनिज पाइन्छन्।
नयाँ ताराको वरिपरि अत्यधिक तापक्रम हुँदा यस्ता पदार्थ ग्यासका रूपमा रहन सक्छन्। तर तापक्रम घट्दै जाँदा तिनै पदार्थ साना ठोस कणका रूपमा जम्न थाल्छन्। समयसँगै ती कण आपसमा जोडिएर ग्रह निर्माणको आधार बन्न सक्छन्।
अनुसन्धान टोलीले एचओपीएस-३१५ वरिपरिको डिस्कमा यही प्रक्रिया सुरु भएको प्रमाण फेला पारेको हो। तथ्यांकमा सिलिकन मोनोअक्साइड ग्यासीय अवस्थामा मात्र नभई क्रिस्टलीय खनिजभित्र समेत रहेको देखिएको छ।
यसले उक्त पदार्थ अहिले नै ठोस बन्ने प्रक्रियामा रहेको संकेत गरेको वैज्ञानिकहरूको निष्कर्ष छ।
मिशिगन विश्वविद्यालयका प्राध्यापक तथा अध्ययनका सहलेखक एडविन बर्गिनका अनुसार यस्तो प्रक्रिया यसअघि कुनै पनि प्रोटोप्लानेटरी डिस्क वा सौर्यमण्डलबाहिर प्रत्यक्ष रूपमा देखिएको थिएन।
एचओपीएस–३१५ वरिपरि रहेका खनिजसँग सम्बन्धित प्रारम्भिक संकेत जेम्स वेब अन्तरिक्ष दूरबिनले पत्ता लगाएको थियो।
तर संकेतको वास्तविक स्रोत र अवस्थिति यकिन गर्न अनुसन्धानकर्ताले चिलीको अटाकामा मरुभूमिमा रहेको अटाकामा लार्ज मिलिमिटर/सबमिलिमिटर एरे (अल्मा) प्रयोग गरेका थिए।
अल्माबाट प्राप्त तथ्यांकले खनिजसँग सम्बन्धित रासायनिक संकेत ताराको वरिपरिको डिस्कको त्यही क्षेत्रमा रहेको देखायो, जुन हाम्रो सौर्यमण्डलमा सूर्यबाट क्षुद्रग्रह घेरा रहेको दूरीसँग तुलनायोग्य छ।
अध्ययनका सहलेखक तथा लाइडेन विश्वविद्यालयका पोस्टडक्टोरल अनुसन्धानकर्ता लोगन फ्रान्सिसका अनुसार हाम्रो सौर्यमण्डलका क्षुद्रग्रहमा देखिने खनिजहरू रहेको स्थान र एचओपीएस–३१५ वरिपरि भेटिएको खनिजको स्थानमा उल्लेखनीय समानता देखिएको छ।
वैज्ञानिकहरूका लागि एचओपीएस-३१५ अहिले हाम्रो सौर्यमण्डलको जन्मकाल बुझ्न महत्वपूर्ण नमुना बनेको छ। हाम्रो सौर्यमण्डल करिब ४ अर्ब ६० करोड वर्षअघि बनेको मानिन्छ। यसको प्रारम्भिक चरण प्रत्यक्ष रूपमा हेर्न सम्भव नभए पनि वैज्ञानिकहरूले उल्कापिण्ड र अन्य खगोलीय प्रमाणमार्फत त्यस समयका प्रक्रिया पुनर्निर्माण गर्दै आएका छन्।
एचओपीएस–३१५ ले भने त्यस्तै प्रक्रिया अहिले भइरहेको अवस्थामा अध्ययन गर्ने अवसर दिएको छ।
भान ‘ट होफका अनुसार हालसम्म पत्ता लागेका बाह्य ताराप्रणालीमध्ये हाम्रो सौर्यमण्डलको प्रारम्भिक विकासक्रम अध्ययन गर्न एचओपीएस–३१५ सबैभन्दा उपयोगी प्रणालीमध्ये एक देखिएको छ।
वैज्ञानिकहरूले अब यस प्रणालीको थप अध्ययनमार्फत धुलोका सूक्ष्म कण कसरी ठोस बन्छन्, ती कण कसरी आपसमा जोडिन्छन् र त्यसपछि ग्रह निर्माणको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा अझ स्पष्ट जानकारी हासिल गर्ने अपेक्षा गरेका छन्।
