`

तीन दिनसम्म भीषण वर्षा, बाढीको खतरा

Nepal One HD १८ साउन २०८३ १२:३०
प्रमुख खबर

काठमाडौं। आगामी तीन दिन देशका विभिन्न भू–भागमा वर्षाको गतिविधि बढ्ने भएको छ। केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानसँगै लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

वर्षाको सम्भावनासँगै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको उच्च जोखिम छ।

ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमलगायत जिल्लामा भने साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागको पूर्वानुमान छ।

विभागले उच्च जोखिम रहेका क्षेत्रका नदी किनार, होचा भू–भाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचना नियमित रूपमा पालना गर्न पनि विभागले अनुरोध गरेको छ।

मध्यम जोखिम रहेका क्षेत्रमा नदी तथा खोलाको सतह बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन र मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना लिइरहन विभागले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *