`

कप्तानगञ्ज घटनामा न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसको माग

Nepal One HD १८ साउन २०८३ २०:२८
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्ज घटनाको न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गृह मन्त्रालयले गठन गरेको समितिबाट निष्पक्ष र प्रभावकारी छानबिन सम्भव नभएको भन्दै स्वतन्त्र न्यायिक छानबिन समिति गठन अपरिहार्य रहेको बताए।

उनले कप्तानगञ्ज घटनालाई गम्भीर प्रकृतिको घटना उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक रहेको तथा दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने धारणा राखे।

पौडेलका अनुसार कांग्रेसले यो विषय प्रतिनिधिसभा र राष्ट्रिय सभामा उठाउने तथा न्यायिक छानबिन समिति गठनका लागि संसदमार्फत सरकारमाथि दबाब सिर्जना गर्नेछ। यसका लागि अन्य विपक्षी दलसँग पनि सहकार्य गरिने उनले जानकारी दिए।

उनले भने, ‘गृह मन्त्रालयले गठन गरेको कर्मकाण्डी समितिले यो घटनाको निष्पक्ष छानबिन गर्न सक्दैन। यो गम्भीर घटना भएकाले स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिन हुनुपर्छ। सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्ने वातावरण बनाउनुपर्छ। न्यायिक छानबिन समिति गठन हाम्रो मुख्य प्रस्ताव हो र त्यसका लागि संसदभित्र तथा विपक्षी दलहरूसँग मिलेर दबाब सिर्जना गर्छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *