युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
काठमाडौँ। नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसीप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयको पहलमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले सञ्चालन गरेको आठ साताको कार्यक्रममा नेपालभित्र तथा विदेशमा रहेका युवा नेपाली पेसाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीलाई नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित प्राथमिकताका विषयमा प्रत्यक्ष अनुसन्धान गर्ने अवसर प्रदान गरिएको थियो। असारदेखि सञ्चालन भएको कार्यक्रममा नीति तथा अनुसन्धानका क्षेत्रमा रुचि राख्ने १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए । कार्यक्रम स्वेच्छिक आधारमा सञ्चालन गरिएको थियो।
समर फेलोसिपमा नेपालको रक्षा कूटनीतिमाथि अध्ययन तथा अनुसन्धान गर्नुभएकी डा हिन्दू संस्कृतिका कार्कीले परराष्ट्र मन्त्रालयले आयोजना गरेको समर फेलोसिप कार्यक्रम आफ्ना लागि महत्त्वपूर्ण अवसर भएको बताए।
उनले भने, “यो फेलोसिपको अवधिमा हामीले सरकारसँग नजिक रहेर काम गर्ने अवसर पायौँ र विभिन्न निकायसँग सहकार्य पनि गर्यौँ। साथै, यसले आफ्नो क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण योगदान दिएको छ । यसबाट विदेश मामिलामा देशलाई पनि टेवा पुग्ने देखिन्छ”, डा. कार्कीले चीनको साङ्घाइस्थित फुदान विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिमा विद्यावारिधि (पिएचडी) गरेका छन्।
परराष्ट्र नीतिमा युवाको ज्ञान र विशेषज्ञता जोड्ने प्रयास
नेपालको परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित रहेको छ । मन्त्रालयले बदलिँदो अन्तरराष्ट्रिय परिवेशमा नेपालको कूटनीतिक संलग्नताको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। आर्थिक कूटनीति, लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा द्विपक्षीय र बहुपक्षीय सम्बन्ध सुदृढीकरणलाई नेपालको विकाससँग जोडेर अघि बढाउन अनुसन्धान र नयाँ ज्ञानको भूमिका महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।
नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने प्रक्रियामा रहेकाले आगामी दिनमा अन्तरराष्ट्रिय व्यापार, सहुलियतपूर्ण वित्तीय पहुँच तथा विकास साझेदारीका स्वरूपमा परिवर्तन आउने अपेक्षा गरिएको छ। यस्तो सङ्क्रमणलाई व्यवस्थापन गर्न नेपालको परराष्ट्र नीति र कूटनीतिक संयन्त्रलाई थप सक्षम बनाउनुपर्ने अवस्थामा युवा अनुसन्धानकर्ता र पेसाकर्मीको ज्ञानलाई नीतिगत तहसँग जोड्ने प्रयासका रूपमा समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम अघि सारिएको हो।
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अध्ययन तथा पेसागत क्षेत्रमा सक्रिय नेपाली युवासँग रहेको ज्ञान, सीप, अनुभव र अन्तरराष्ट्रिय सञ्जाललाई नेपालको राष्ट्रिय हितमा उपयोग गर्न सकिने सम्भावनालाई कार्यक्रमको आधार बनाइएको बताए।
मन्त्रालयले युवा नेपाली पेसाकर्मी तथा अनुसन्धानकर्तासँग संरचित साझेदारी निर्माण गर्ने नीति लिएको उनकाे भनाइ थियो । कार्यक्रममार्फत सहभागी युवाले मन्त्रालयका प्राथमिकताका क्षेत्रमा भइरहेको नीतिगत कामलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए।
