नागपोखरी र नागदहमा पूजाआजा गर्नेको भीड [तस्वीरहरू]
काठमाडौं। श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर नाग पञ्चमी पर्व मनाइँदै छ। यस दिन घरको मूल ढोकामाथि वा ढोकाको दायाँ–बायाँ नागको तस्बिर टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार नागको तस्बिर घरको मूलढोकामा स्थापना गरी पूजा गरेमा वर्षभर नाग, सर्प, बिच्छीलगायत विषालु जीवबाट हुने भय तथा आगलागी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट घरपरिवार सुरक्षित रहने विश्वास गरिन्छ।
नाग पञ्चमीका दिन नागलाई देवताका रूपमा पूजा गर्दै दूध, अक्षता, फूल, दुबो तथा अन्य पूजाका सामग्री अर्पण गर्ने चलन छ। नागको पूजा प्रकृति, जलस्रोत तथा सर्पप्रतिको सम्मानसँग पनि जोडिएको पाइन्छ।
नाग पञ्चमीको अवसरमा काठमाडौंको नक्सालस्थित नागपोखरी, ललितपुरको नागदह तथा भक्तपुरको नागपोखरीमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि श्रद्धालुको भीड लागेको छ।
ती स्थानमा पुगेका भक्तजनले नागको पूजा गर्नुका साथै परिवारको सुख, शान्ति, समृद्धि तथा सुरक्षा र मनोकामना पूरा होस् भन्ने कामना गरेका छन्।
विशेषगरी नागपोखरी र नागदहमा पूजाआजाका लागि बिहानैदेखि भक्तजन पुग्न थालेपछि धार्मिक स्थलहरूमा चहलपहल बढेको छ।
नाग पञ्चमीसँगै काठमाडौं उपत्यकाका विभिन्न नागस्थान तथा नागदेवताका मन्दिरमा पनि विशेष पूजा तथा धार्मिक गतिविधि भइरहेको छ।














