`

उपसभामुख रुबीका सचिवालय सदस्य दीपकको मर्यादाहीन त्यो अभिव्यक्ति

Nepal One HD २ भदौ २०८३ ९:१९
राजनीति

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरको सचिवालयमा रहेका दीपकजंग ठाकुरले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र उनको परिवारप्रति अश्लील तथा मर्यादाहीन अभिव्यक्ति दिएका छन् । उनले श्रेष्ठ र उनको परिवारलाई लक्षित गर्दै विभिन्न लान्छना लगाएका छन् । उनका कतिपय अभिव्यक्ति सार्वजनिक रूपमा सुन्नै नसकिने खालका छन् ।

उपसभामुखजस्तो संवैधानिक पदमा रहेकी व्यक्तिको सचिवालयमा रहेका व्यक्तिबाट पत्रकार र उनको परिवारलाई लक्षित गरी यस्तो अभिव्यक्ति आउनु आलोचनाको विषय बनेको छ । सार्वजनिक पदसँग जोडिएका व्यक्तिले आफ्नो अभिव्यक्ति र व्यवहारमा मर्यादा कायम राख्नुपर्ने हुन्छ ।

दीपकको यस्तो अभिव्यक्ति सार्वजनिक भइरहेका बेला उपसभामुख ठाकुरले भने सम्पादक श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले श्रेष्ठले मानमर्दन गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् ।

श्रेष्ठ सोमबार मात्रै अदालतको आदेशपछि रिहा भएका थिए । तर, उपसभामुखले पुनः उजुरी दिएपछि उनी फेरि पक्राउ पर्न सक्ने सम्भावना बढेको छ ।

यो विवाद केही दिनअघिको घटनासँग जोडिएको छ । जनआस्थाले उपसभामुख ठाकुर र उनका सचिवालय सदस्य दीपकको तस्बिर राखेर ‘सुध्रिनुहोस् माननीय, अझै मौका छ’ भन्ने आशयको समाचार प्रकाशित गरेको थियो । उक्त तस्बिर उपसभामुख ठाकुर आफैंले सार्वजनिक गरेको जनआस्थाको दाबी छ ।

समाचार प्रकाशित भएपछि ठाकुरले आफू झण्डै आत्महत्या गर्ने अवस्थामा पुगेको बताएकी थिइन् । दीपक पनि त्यस्तै अवस्थामा पुगेको उनको भनाइ थियो ।

त्यसपछि ठाकुरले गृहमन्त्री सुधन गुरुङसँग सम्पादक श्रेष्ठलाई पक्राउ गर्न आग्रह गरेकी थिइन् । अहिले श्रेष्ठविरुद्ध मानमर्दनको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

समाचार वा पत्रकारको अभिव्यक्तिप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने अधिकार सम्बन्धित पक्षलाई हुन्छ । तर, त्यसको प्रतिकारमा पत्रकार र उनको परिवारप्रति गरिने व्यक्तिगत लान्छना तथा अश्लील अभिव्यक्तिले भने अर्को गम्भीर प्रश्न उठाएको छ ।

एकातिर सम्पादक श्रेष्ठविरुद्ध मानमर्दनको उजुरी परेको छ । अर्कोतिर उपसभामुखकै सचिवालयमा रहेका व्यक्तिबाट पत्रकार र उनको परिवारप्रति मर्यादाहीन अभिव्यक्ति आएको छ । त्यसैले यो प्रकरणमा दुवै पक्षको आचरण र अभिव्यक्तिबारे प्रश्न उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *