कांग्रेस सभापति गगन थापाको आग्रह– ‘१५औँ महाधिवेशन निष्पक्ष र विश्वसनीय हुनुपर्छ
काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले निर्वाचन समितिको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भए पनि त्यसको निष्पक्षता सबैभन्दा महत्वपूर्ण हुने बताए।
उनले विगतका महाधिवेशनमा पनि निर्वाचन समितिका संयोजक तथा सदस्यहरू पार्टी नेतृत्वबाट प्रस्तावित भए पनि निर्वाचनको जिम्मेवारी लिएपछि निष्पक्षता कायम गरेकै कारण सबैले निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था बनेको बताए।थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई निर्वाचन समितिको संयोजकको जिम्मेवारी दिँदा पनि राजनीतिक रुझानभन्दा माथि उठेर निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको बताए।
उनले भने, ‘पार्टीभित्रको राजनीतिक रुझान, लाइक, डिस्लाइक, आफूलाई को मनपर्छ, को मनपर्दैन, त्यो छुट्टै विषय हो। तर निर्वाचनको काम सुरु भइसकेपछि सबैले यसमा फेयरनेस महसुस गर्न पाउनुपर्छ।’
सभापति थापाले महाधिवेशनमा सदस्यता र निर्वाचन प्रक्रिया मुख्य विषय रहेको उल्लेख गर्दै यसपटक सदस्यता डिजिटलाइज भइसकेकाले विगतमा जस्तो विवाद नहुने दाबी गरे।उनका अनुसार महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले सदस्यताको विषय टुंग्याएर निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछ। सोही सदस्यता सूचीलाई मतदाता सूचीका रूपमा प्रयोग गरिने उनले बताए।
सदस्यता वा निर्वाचन समितिको निष्पक्षतामाथि कुनै आशंका भए आफू खुला छलफलका लागि तयार रहेको पनि थापाले बताए।उनले भने,‘सदस्यताको सन्दर्भमा कुनै प्रश्न छ वा अहिले गरेको काम निष्पक्ष भएन भन्ने आशंका छ भने अर्को कुन समिति बनाउनुपर्ने हो, कसरी बनाउनुपर्ने हो, त्यसका लागि म तयार छु, हामी तयार छौँ।’
थापाले असोज १६ गतेदेखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै मंगलबारदेखि महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताए। निर्वाचन समितिले तयार गरेको कार्यतालिकाअनुसार सबैले अघि बढ्नुपर्ने उनको भनाइ छ।
