पछिल्लो १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ४३ हजार ५९३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२–८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको उनले जानकारी दिए । गत साउनमा मात्रै ट्राफिक कारबाहीबाट रु ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको छ ।
साउनमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ८७ जना चालकलाई कारबाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।ट्राफिक नियम पालना नगर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जिप÷कार, ट्रक र ट्याक्टरलगायतका सवारीसाधन बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए ।
यसैगरी, आठ हजार ८९३ जिप÷कार, छ हजार २८५ ट्रक, तीन हजार ७११ ट्याक्टर, एक हजार ७८५ बस र चार हजार ८९० अन्य सवारीसाधन कारबाहीमा परेका थिए ।प्रहरी उपरीक्षक कार्कीले सुदूरपश्चिममा सवारीसाधनको सङ्ख्या बढ्नु, सडक साँघुरा हुनु तथा ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढेको बताए ।ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको उनको भनाइ छ । ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परी २५० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक हजार ३८१ जना गम्भीर र एक हजार १६२ जना सामान्य घाइते भएका थिए ।गत वर्ष लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालकलाई कारबाही गरिएको थियो भने मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ६४१ चालकलाई कारबाही गरी जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
