महामारीको मुखमा स्वास्थ्य विभाग निमित्तकै भरमा
काठमाडौं। मौसमजन्य तथा महामारीजन्य रोगको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्वास्थ्य सेवा विभाग विगत तीन महिनादेखि निमित्त महानिर्देशकको भरमा सञ्चालन भइरहेको छ।
देशभर मौसमी रोगको जोखिम बढिरहेका बेला विभागमा स्थायी नेतृत्व नहुँदा स्वास्थ्य क्षेत्रको समग्र व्यवस्थापनमा प्रश्न उठेको हो।
पछिल्लो चार महिनामा मात्रै सर्पदंशका कारण ६६ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस अवधिमा ९५६ जनालाई सर्पले टोकेको छ। त्यस्तै, जापानी इन्सेफलाइटिस (जेई) का ५८ संक्रमितमध्ये १६ जनाको मृत्यु भएको तथ्याङ्क छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १२औँ तहका दुई अतिरिक्त सचिव कार्यरत हुँदाहुँदै स्वास्थ्य सेवा विभागको नेतृत्व भने ११औँ तहका अधिकृतलाई दिइएको छ।
विभागको संगठनात्मक संरचनाअनुसार महानिर्देशक पदमा स्वास्थ्य सेवा समूहका १२औँ तहका कर्मचारी रहने व्यवस्था भए पनि हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ।
मन्त्रीस्तरीय निर्णयबाट गत वैशाख ३० गते डा. भट्टचनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो। त्यसयता विभागले स्थायी महानिर्देशक पाउन सकेको छैन।
स्वास्थ्य सेवा विभाग देशको स्वास्थ्य प्रणाली सञ्चालन, व्यवस्थापन तथा सरकारका स्वास्थ्य नीति कार्यान्वयन गर्ने प्रमुख निकाय हो। विभागले स्वास्थ्य सूचना प्रणाली सञ्चालन, जनशक्ति व्यवस्थापन, सरकारी स्वास्थ्य संस्थाको सेवा विस्तार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तर, विभाग लामो समयसम्म निमित्त नेतृत्वमा रहँदा दीर्घकालीन निर्णय तथा प्रशासनिक काम प्रभावित हुन सक्ने सरोकारवालाहरू बताउँछन्। विशेषगरी स्वास्थ्य सामग्री तथा औषधि खरिद, जनशक्ति व्यवस्थापन र विपद्का बेला आकस्मिक स्वास्थ्य सेवा परिचालनमा नेतृत्वको स्थायित्व महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।
निमित्त नेतृत्वमा जिम्मेवारीको अवधि निश्चित नहुने भएकाले महत्वपूर्ण निर्णय लिँदा समेत असहजता उत्पन्न हुन सक्ने बताइएको छ। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार यस्तो अवस्थामा निर्णय प्रक्रियामा ढिलाइ हुनुका साथै दीर्घकालीन योजना कार्यान्वयनमा समेत असर पर्न सक्छ।
अहिले मनसुनसँगै देशभर विभिन्न मौसमी तथा महामारीजन्य रोगको जोखिम बढिरहेको छ। विशेषगरी हैजा, डेंगी, झाडापखाला, स्क्रब टाइफस, औलो र इन्फ्लुएन्जाजस्ता रोगको जोखिम मनसुनमा बढ्ने गर्छ।
खानेपानीका स्रोत दूषित हुने, सरसफाइमा समस्या आउने तथा लामखुट्टे र अन्य रोगवाहक जीवको सक्रियता बढ्ने भएकाले संक्रमणको जोखिमसमेत बढ्ने स्वास्थ्य अधिकारीहरूको आकलन छ।
महामारी तथा संक्रामक रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। रोगको रोकथाम, निगरानी तथा उपचारका लागि समुदायदेखि प्रादेशिक र केन्द्रीय अस्पतालसम्म एकीकृत पूर्वतयारी अघि बढाइएको विभागले जनाएको छ।
यसबीच सर्पदंश र जापानी इन्सेफलाइटिसका घटनाले पनि जनस्वास्थ्य प्रणालीमाथि थप दबाब सिर्जना गरेको छ। सर्पदंशका घटना विशेषगरी ग्रामीण तथा तराईका क्षेत्रमा बढी देखिने गरेका छन् भने जापानी इन्सेफलाइटिसको जोखिमसमेत विभिन्न जिल्लामा बढिरहेको छ।
स्वास्थ्य सेवा विभागमा स्थायी नेतृत्व नहुँदा यस्ता रोगको निगरानी, नियन्त्रण र आकस्मिक स्वास्थ्य व्यवस्थापनमा आवश्यक समन्वय प्रभावकारी रूपमा हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
विभाग मात्र होइन, देशकै जेठो सरकारी अस्पताल वीर अस्पतालमा समेत १२औँ तहको पुल दरबन्दी रहे पनि मन्त्रालयले हालसम्म कर्मचारी पठाउन सकेको छैन। कोभिड–१९ युनिफाइड अस्पताल बनाउने क्रममा सिर्जना गरिएको उक्त दरबन्दीमा प्रमुख विशेषज्ञस्तरको कर्मचारी खटाउने निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन।
