`

केपी शर्मा ओलीले भने – छानबिनका नाममा दुःख दिने काम भयो

Nepal One HD ३० साउन २०८३ २०:२६
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई संकेत गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्न खोजिएको आरोप लगाएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले आफूहरूलाई लक्षित गरी कानुनको दुरुपयोग हुनसक्ने दाबी समेत गरे ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्न त्यो रोक्नको लागि कथित आयोग बनायो । कस–कसलाई मुद्दा लगाउनुपर्ने त्यो लगाउने, यसले के भन्यो भने उनीहरूलाई मुद्दा नलाग्ने । कानुन नै कस्तो भने उनीहरूलाई मुद्दा नलाग्ने, न्यायाधीशलाई मुद्दा नलाग्ने, सेनालाई मुद्दा नलाग्ने, उनीहरूको नातागोताका लागि पनि मुद्दा नलाग्ने।’

ओलीले आफूलाई समेत सामान्य विषयमा छानबिनको नाममा दुःख दिन सक्ने अवस्था सिर्जना गरिएको टिप्पणी गरे ।

आदिवासी जनजातिको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकता र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

उनले आदिवासी जनजातिको विकास, उत्थान तथा हकअधिकारको संरक्षण र आवश्यक अधिकार प्राप्तिका लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘आदिवासी जनजातिहरुको सर्वोपरि, सर्वमुखी विकास, उत्थान, हकअधिकारहरुको सुरक्षा र आवश्यक अधिकारहरुको प्राप्ति हुनैपर्छ । त्यसका निम्ति पनि काम गर्नुपर्ने छ । सँगसँगै राष्ट्रिय एकता कसरी कायम गर्ने ? हामी सबैलाई थाहा छ, हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक लगायत विभिन्न भौगोलिक, वनस्पतीय, जैविक र सामाजिक विविधताले भरिएको देश हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *