बालेन मुस्ताङतिर, रविको नजर मधेशतिर !
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी घुमघाम भनेर मुस्ताङतिर लागेकै दिन पार्टी सभापति रवि लामिछानेले भने पार्टीभित्रको ‘खेल’ अघि बढाएका छन् ।
बालेन पोखरा हुँदै मुस्ताङ उक्लिँदा रास्वपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले पदाधिकारी नियुक्तिदेखि विभागीय जिम्मेवारी र केन्द्रीय सदस्य मनोनयनसम्मका निर्णय गरेको छ ।
बैठकबाट तीन मन्त्री सुनिल लम्साल, सुधन गुरुङ र प्रतिभा रावल केन्द्रीय सदस्य बने । जेनजी आन्दोलनका अगुवा भनेर चिनिएका पुरुषोत्तम यादवले भने एकैचोटि सहमहामन्त्रीको फड्को मारे । सभापति रवि लामिछानेलाई आर्थिक सहयोग गर्दै आएका भनिएका डा. मनोहर प्रधान कोषाध्यक्ष बने भने सुरेन्द्र चौधरीले सहप्रवक्ताको जिम्मेवारी पाए । चीन भ्रमणमा रहेका पूर्वमन्त्री जगदीश खरेल प्रवक्ता बने ।
पद पाउनेमध्ये अधिकांश रविनिकट मानिन्छन् । तर, सबैभन्दा धेरै चर्चा पुरुषोत्तम यादवको छ । हिजोसम्म जिल्ला प्रशासनबाट जेनजी प्रदर्शनको अनुमति लिने पात्र, आज पार्टीको सहमहामन्त्री ! रास्वपाको राजनीतिमा यति छिटो ‘लिफ्ट’ चढ्ने पात्रको खोजी गर्दा यादवको नाम अगाडि आएको छ ।
यादवलाई सुरुमा बालेननिकट भनेर बुझिन्थ्यो । अहिले भने रविको विश्वासपात्रका रूपमा उनको राजनीतिक उचाइ बढेको छ । आखिर बालेन मुस्ताङ लागेकै दिन रविले यादवलाई किन यति ठूलो जिम्मेवारी दिए ?
रास्वपाभित्र यसको आआफ्नै व्याख्या हुन थालेको छ ।
रास्वपा स्रोतका अनुसार यादवलाई अघि बढाउनुको पहिलो कारण मधेशको शक्ति सन्तुलन हो । मधेशमा पार्टीका प्रभावशाली नेता मनिष झा र अमरेशकुमार सिंहलाई ‘चेक एण्ड ब्यालेन्स’मा राख्ने रणनीति हुनसक्ने चर्चा छ ।
स्थापनाकालदेखि नै पार्टीमा रहेका मनिष झाको रविसँग सम्बन्ध पछिल्लो समय चिसिएको चर्चा छ । महामन्त्रीमा विपिनकुमार आचार्यसँग प्रतिस्पर्धा गरेपछि उनी सभापतिको नजरमा पहिलेझैँ प्रिय नरहेको बताइन्छ ।
अर्कोतर्फ अमरेशकुमार सिंह पार्टी र सरकार दुवैको आलोचना गर्न पछि नपर्ने नेताका रूपमा देखिएका छन् । यस्तो अवस्थामा मधेशमै अर्को शक्ति केन्द्र निर्माण गरेर यी दुईलाई साइजमा राख्ने रणनीति हुनसक्ने चर्चा छ ।
त्यसैले होला, मधेशकै यादवलाई अचानक सहमहामन्त्रीको कुर्सीमा पुर्याइएको अर्थ निकाल्न थालिएको छ ।
यादवको उकालो यात्रालाई कतिपयले अझ ठूलो राजनीतिक खेलसँग जोडेर हेरेका छन् ।
मधेशको ‘बेटा’ भन्दै चुनावमा घण्टीको लहर चलेपछि बालेन्द्र साह प्रधानमन्त्री बनेका हुन् । तर, मधेशका अपेक्षा र माग सम्बोधन गर्न नसकेको गुनासो बढ्दै गएको चर्चा छ ।
यही कमजोरीलाई समातेर रविले बालेनभन्दा पनि कम उमेरका यादवलाई राजनीतिक रूपमा अघि बढाउन खोजेको कतिपयको बुझाइ छ ।
यदि यो रणनीति हो भने भविष्यमा बालेनको विकल्प खोज्दा रविसँग अर्को ‘युवा कार्ड’ तयार हुनेछ । त्यसमाथि गृहमन्त्री सुधन गुरुङलाई पनि राजनीतिक रूपमा साइजमा राख्न सकिने हिसाब सभापति पक्षले गरेको हुनसक्ने चर्चा छ ।
गुरुङले आफूलाई जेनजी आन्दोलनको मुख्य अगुवाका रूपमा प्रस्तुत गर्दै आएका छन् । प्रदर्शनका क्रममा पानी बाँडेको भूमिकासमेत चर्चामा आएको थियो । तर, आन्दोलनका लागि औपचारिक अनुमति लिने व्यक्तिलाई नै पदाधिकारी तहमा पुर्याएर रविले अर्कै सन्देश दिएको अर्थ लगाउन थालिएको छ ।
रास्वपाको यो निर्णय भइरहँदा प्रधानमन्त्री बालेन भने बैठकमा थिएनन् । उनी निजी भ्रमणका नाममा पत्नी सविनासहित मुस्ताङतिर लागेका छन् ।
बालेन पक्षबाट पदाधिकारीका लागि नाम आउने अपेक्षा गरिएको भए पनि अहिलेसम्म त्यो प्रक्रिया अघि बढेको छैन । बरु रविले आफ्ना विश्वासिला नेताहरूलाई धमाधम जिम्मेवारी दिएका छन् ।
यसले रास्वपाभित्र ‘बालेन पक्ष कि रवि पक्ष ?’ भन्ने पुरानो प्रश्नलाई फेरि सतहमा ल्याएको छ ।
