रास्वपा अहिले जग बसाल्ने चरणमा छ, विगतका छुटेका अध्याय अध्ययन गर्नुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार र दीर्घकालीन राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन गर्नुपर्ने बताएका छन्।
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा ‘अब्बल विद्यार्थी’का रूपमा जन्मिए पनि केही कक्षा ‘जम्प’ गर्दा छुटेका अध्यायहरू पुनः अध्ययन गर्नुपर्ने अवस्था रहेको बताए।
उनले सरकारसम्म आइपुग्दा पार्टीले सिक्नुपर्ने र समीक्षा गर्नुपर्ने धेरै विषय छुटेको उल्लेख गर्दै त्यसका लागि समय निकाल्नुपर्ने बताए।
लामिछानेले पार्टी नै राजनीतिक अभ्यास, नीति निर्माण र नेतृत्व विकासको उपयुक्त प्लेटफर्म भएको बताए। राजनीतिक दलका आधारभूत सिद्धान्त, अनुशासन, नीति र विधिको पालना गर्दै अघि बढ्न सके रास्वपा दीर्घकालसम्म बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ।
उनले पहिलो महाधिवेशनबाट निर्वाचित तथा हालै मनोनित नेताहरूको जिम्मेवारी आगामी पुस्ताका नेताहरूको भन्दा बढी रहेको बताए। पार्टीको जग बसाल्ने चरणमा रहेका कारण उनीहरूले प्रशिक्षण र अध्ययनमा अझ बढी समय दिनुपर्ने लामिछानेको भनाइ थियो।
स्थापनाकालदेखिका नेता तथा संस्थापक र पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीको भविष्य कति परसम्म जाने भन्ने निर्धारण गर्ने भएकाले उनीहरूको भूमिका महत्वपूर्ण रहेको उनले बताए।
