रवि ठहरिए जिम्मेवार नेता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब पुराना दलका कमजोरी गनेर राजनीतिको रोटी सेक्ने बाटोभन्दा भविष्य निर्माणको एजेन्डामा अघि बढ्ने संकेत गरेका छन् ।
उनको पछिल्लो अभिव्यक्ति हेर्दा विगतको विरोधमा रमाउने नेताभन्दा जिम्मेवार राजनीतिक नेतृत्वतर्फ आफूलाई उभ्याउन खोजेको देखिन्छ ।
काठमाडौंमा आयोजित रास्वपाको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी कार्यशालामा लामिछानेले बितेको ३५ वर्षको हिसाब खोजिरहनुभन्दा आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने योजना प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
‘३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस्,’ उनले भनेका छन्, ‘बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे, धन्यवाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ ।’
राजनीतिमा नयाँ दलको उदय प्रायः पुराना शक्तिप्रतिको जनअसन्तुष्टिबाट हुन्छ । रास्वपाको उदय पनि त्यसबाट अलग छैन । पुराना दलका कमजोरी, बेथिति र असफलतालाई औँल्याएर जनमत तान्न सजिलो हुन्छ । तर सधैँ अरूको कमजोरी देखाएर मात्रै नयाँ राजनीतिक शक्ति स्थापित हुन सक्दैन ।
यही वास्तविकतालाई लामिछानेले आत्मसात् गर्न थालेका हुन् भने यसलाई सकारात्मक राजनीतिक परिपक्वता मान्नुपर्छ ।
पुराना दलले गल्ती गरेका छैनन् भन्न खोजिएको होइन । विगतका कमजोरीमाथि प्रश्न उठाउनु लोकतान्त्रिक राजनीतिमा स्वाभाविक हो । तर त्यसैलाई राजनीतिको मुख्य एजेन्डा बनाएर बस्नुको सट्टा आफूले के गर्ने भन्ने जवाफ दिन सक्नु नै नयाँ शक्तिको असली परीक्षा हो ।
लामिछानेले आफ्ना नेता–कार्यकर्तालाई पुराना दल र नेतामाथि निरन्तर दोषारोपण गरेर राजनीतिक लाभ लिने शैलीबाट टाढा रहन दिएको सन्देश त्यसैले अर्थपूर्ण छ । विगतमा भएका सकारात्मक कामलाई समेत स्वीकार गर्नुपर्ने उनको भनाइले राजनीतिक प्रतिस्पर्धालाई दुश्मनी होइन, नीतिगत प्रतिस्पर्धाका रूपमा अघि बढाउने संकेत गर्छ ।
त्यसैगरी उनले रास्वपाका गतिविधि लोकतन्त्रलाई कमजोर पार्ने खालका हुन नहुने स्पष्ट पारेका छन् । ‘हाम्रा गतिविधिले लोकतन्त्रलाई कमजोर नबनाओस्, यो हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने ।
यो भनाइ रास्वपाजस्तो नयाँ राजनीतिक शक्तिका लागि झन् महत्वपूर्ण छ । किनकि परिवर्तनको नारामा उदाएको दलले लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारमा पनि परिवर्तन देखाउन सक्नुपर्छ । लोकप्रियताको नाममा उत्तेजना, विरोधका नाममा अराजकता र राजनीतिक असहमतिलाई दुश्मनीमा बदल्ने प्रवृत्तिबाट टाढा रहन सके मात्रै नयाँ दलको औचित्य पुष्टि हुन्छ ।
लामिछानेले सरकार सञ्चालनमा मात्रै ध्यान दिएर नपुग्ने भन्दै प्रभावकारी प्रतिपक्ष पनि लोकतन्त्रको आवश्यकता भएको बताएका छन् । यसको अर्थ सत्ता र प्रतिपक्ष दुवै अवस्थामा जिम्मेवार राजनीतिक भूमिका निर्वाह गर्ने संस्कार निर्माण गर्नुपर्ने उनको जोड हो ।
रास्वपाको पहिलो महाधिवेशनपछि भएको यो कार्यशाला पार्टीको आगामी राजनीतिक दिशाका लागि पनि महत्वपूर्ण छ । संगठन विस्तार, नीति निर्माण र नेतृत्वको कार्यशैलीलाई व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको अवस्थामा लामिछानेको ‘३५ वर्षको योजना’को कुरा केवल भाषणमा सीमित रहनु हुँदैन ।
स्थानीय तहसम्म संगठन विस्तारदेखि आगामी निर्वाचनसम्म रास्वपाले कस्तो नीति र कार्यक्रम लिएर जनतामाझ जान्छ, त्यसैले अब उसको राजनीतिक हैसियत निर्धारण गर्नेछ ।
रविले पुराना दललाई गाली गरेर ताली पाउने राजनीतिभन्दा आफ्नो कामबाट जनताको विश्वास जित्ने बाटो रोज्न खोजेका हुन् भने यो उनको राजनीतिक यात्राको महत्वपूर्ण मोड हुन सक्छ । नयाँ नेता हुनु र जिम्मेवार नेता हुनु फरक कुरा हो । आलोचनाबाट लोकप्रिय बन्न सकिन्छ, तर दीर्घकालीन दृष्टि, संयम र परिणामबाट मात्रै नेता ठहरिन्छ ।
विगतको ३५ वर्षको हिसाब माग्ने होइन, अबको ३५ वर्षको जिम्मेवारी लिने कुरा रविले उठाएका छन् । यही सोच व्यवहारमा उतार्न सके रवि साँच्चिकै जिम्मेवार नेता ठहरिनेछन् ।
