`

‘निवेदन दिँदैमा सांसद पदमुक्त हुँदैन’ : ज्ञानेन्द्र शाही

Nepal One HD ९ भदौ २०८३ ८:५२
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसदलाई कारबाहीका लागि निवेदन दिँदैमा उनीहरूको सांसद पद स्वतः पदमुक्त नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत राप्रपाका नेता तथा कार्यकर्तालाई अपिल गर्दै शाहीले पार्टीले बागमती प्रदेशसभा सचिवालयमा कारबाहीका लागि निवेदन मात्र बुझाएको स्पष्ट पारेका हुन्।

उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसद पदमुक्त भएको प्रचार गर्नु उचित नहुने बताए।

‘निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,’ उनले भनेका छन्।

शाहीले पार्टीका आधिकारिक व्यक्ति र जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउन थाले पार्टी कमजोर हुने बताए। पार्टीले कारबाही गर्न सक्ने भए पनि कारबाहीको निवेदन दिँदैमा सांसद पदमुक्त भएको मान्न नसकिने उनको भनाइ छ।

प्रत्यक्ष निर्वाचित सांसदको पद जनताको मतबाट प्राप्त हुने भएकाले यस विषयमा थप संवेदनशील हुनुपर्ने उनले बताएका छन्।

‘भावनामा होइन, तथ्यमा बोलौँ। गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ,’ शाहीले अपिल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *