रसुवाको बाढीमा अर्थमन्त्रीको एक्सन, भन्सार नाका बचाउन टोली परिचालन
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा पुर्याएको क्षतिप्रति अर्थ मन्त्रालयले चासो देखाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन रसुवा भन्सार कार्यालय र मातहतका निकायसँग प्रत्यक्ष समन्वय थालेका छन्।
मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्लेको नेतृत्वमा सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसालसहितको टोलीले उद्धार तथा राहतका लागि आवश्यक समन्वय गरिरहेको छ।
भोटेकोशीको जलस्तर अचानक बढेपछि टिमुरे र स्याफ्रुबेँसी आसपासमा संकट उत्पन्न भएको हो। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी र आसपासका भन्सार संरचना पनि बाढीको जोखिममा रहेकाले कर्मचारी, सुरक्षाकर्मी र भौतिक संरचनाको सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले निर्देशन दिएको छ।
बाढीबाट भएको क्षति तथा प्रभावितको अवस्थाबारे थप विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।
