बाढीको त्रास : धादिङ, रसुवा र चितवन जाने गाडी काठमाडौंमै रोकिए [तस्वीरहरू]
काठमाडौं। चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै ती जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले ती जिल्लातर्फ तत्काल यात्रा नगर्न आग्रह गरिएको छ ।
उनले जोखिमको अवस्था रहेकाले त्यसतर्फ जान लागेका सवारीसाधनलाई रोकिएको जानकारी दिए ।
ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई समेत धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । सम्भावित बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।
नागढुंगा र भीमढुंगा नाकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनसँगै चारपाङ्ग्रे निजी तथा दुईपाङ्ग्रे सवारीलाई समेत तत्कालका लागि रोकिएको छ ।
बाढीको बहाव र जोखिमको अवस्था मूल्यांकन गरेपछि सवारी आवागमन खुलाउने वा थप कडाइ गर्नेबारे निर्णय गरिने ट्राफिक प्रहरीले जनाएको छ ।












