उद्धारमा केन्द्रित हुन गृहमन्त्री गुरुङको निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित नागरिकको उद्धारलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।
विमानस्थलबाटै खोज तथा उद्धार अभियानको नेतृत्व गरिरहेका मन्त्री गुरुङले रात परेपछि हेलिकप्टरमार्फत उद्धार गर्न कठिन हुने भएकाले उपलब्ध सुरक्षा संयन्त्रलाई तत्काल उद्धारमा केन्द्रित गरिएको जानकारी दिए ।
उनका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी तथा नुवाकोटका जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कतामा राखिएको छ । सम्भावित थप क्षतिलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई परिचालन गरी उद्धारको काम तीव्र पारिएको उनले बताए ।
‘हाम्रो पहिलो प्राथमिकता रेस्क्यु हुन्छ,’ मन्त्री गुरुङले भने ।
उद्धार अभियान पूरा भएपछि विस्थापित नागरिकका लागि राहत तथा अस्थायी आवासको व्यवस्था गरिने उनको भनाइ छ । उनले हिमताल वा ग्लेसियर फुटेपछि आएको बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
मन्त्री गुरुङका अनुसार अहिले उपलब्ध हेलिकप्टरहरू उद्धार कार्यमै प्रयोग भइरहेका छन् । उद्धार अभियान प्रभावित नहोस् भनेर निजी प्रयोजनका लागि हेलिकप्टर उडानमा रोक लगाइएको उनले जानकारी दिए ।
उद्धार आवश्यक रहेका स्थानमा फसेका नागरिकलाई हेलिकप्टरबाट देखिने गरी आगो बालेर वा अन्य माध्यमबाट संकेत दिनसमेत उनले आग्रह गरेका छन् । सुरक्षा निकायलाई आपसी समन्वयसहित उद्धारमा तीव्र रूपमा परिचालित हुन निर्देशन दिइएको मन्त्री गुरुङले बताए ।
