`

रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

Nepal One HD ११ भदौ २०८३ ८:३४
बिशेष

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज बिहान करिब ५ बजेसम्म बाढी प्रभावित तथा नदी तटीय क्षेत्रबाट ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी (पूर्व)मा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी (पश्चिम)मा २ जनाको शव रहेका छन्।

बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, राष्ट्रिय ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

उद्धार तथा खोजी कार्यका लागि ३ हजार ३१८ जना प्रहरी कर्मचारी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाढी प्रभावित रसुवा जिल्लाका विभिन्न प्रहरी चौकी तथा इकाइमा कार्यरत ६४ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *