भोटेकोशी बाढीमा सेनाको रेस्क्यु, १२५ जनाको उद्धार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि जोखिममा परेकाको उद्धारका लागि नेपाली सेना दिनरात खटिएको छ। सडक सम्पर्क टुटेका र स्थलमार्गबाट पुग्न कठिन बनेका क्षेत्रमा सेनाले हेलिकप्टरमार्फत उद्धार गरिरहेको हो।
सेनाका अनुसार बिहीबार बिहानदेखि टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनालाई हवाई उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा अझै जोखिम कायमै रहेकाले उद्धार आवश्यक भएका नागरिकको पहिचान गरी हवाई तथा जमिनबाट उद्धार गर्ने काम जारी रहेको सेनाले जनाएको छ।
उद्धारसँगै घाइतेको उपचारलाई पनि प्राथमिकता दिइएको छ। त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ चिकित्सकसहितको आपत्कालीन उपचार केन्द्रमा ६४ जना घाइतेलाई स्वास्थ्य सेवा दिइएको सेनाले जनाएको छ।
सेनाले प्रभावित क्षेत्रमा उद्धार मात्रै होइन, तत्कालीन उपचार र राहत वितरणको कामसमेत सँगसँगै अघि बढाएको छ। घाइते तथा जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार स्थलमार्ग र हेलिकप्टरबाट उद्धार गर्ने तथा प्रभावितसम्म राहत सामग्री पुर्याउने काम भइरहेको सेनाको भनाइ छ।
भोटेकोशीको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा सडक तथा पुलमा क्षति पुर्याएपछि कतिपय स्थानमा स्थलमार्गबाट उद्धार गर्न कठिन भएको छ। यस्तो अवस्थामा सेनाको हवाई उद्धार प्रभावित नागरिकका लागि तत्काल सुरक्षित ठाउँमा पुग्ने प्रमुख माध्यम बनेको छ।
