`

बाढीपीडितका लागि गोरेटो कन्सल्टेन्सी परिवारले गर्यो १० लाख ५१ हजार सहयोग

Nepal One HD ११ भदौ २०८३ १८:५५
समाचार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए।

कँडेलले विपत्तिको यो दुःखद् घडीमा ठूलो सहयोग गर्न नसके पनि पीडामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डिपोजिट गरिएको बताए । सिइओ कँडेलले भने ‘हामीले ठूलो सहयोग गर्न नसके पनि आफन्त गुमाएका, घाइते भएका र घरबारविहीन बनेका नेपालीको दुःखमा सानो भए पनि राहत होस् भन्ने उद्देश्यले यो रकम हस्तान्तरण गरेका हौँ । उनले भने गोरेटोले एकैछिनमा प्रियजन गुमाउनुपरेका परिवार, उजाडिएका घर–आँगन तथा विपत्तिका कारण पीडामा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो ।

त्यस्तै, गोरेटो कन्सल्टेन्सीका बजार प्रबन्धक तथा सिनियर काउन्सेलर प्रकाश रेग्मीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे। रेग्मीले गोरेटो कन्सल्टेन्सी परिवारको तर्फबाट विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन आफूहरू पनि सहयोग अभियानमा जोडिएको बताए। उनले घाइते तथा विपत्तिबाट प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामनासमेत गरे।

गोरेटोले उक्त सहयोगलाई आर्थिक सहयोगमा मात्रै सीमित नभई विपत्तिमा परेका नागरिकसँग आफूहरू साथमा रहेको मानवीय सन्देशका रूपमा लिएको जनाएको छ। देश प्राकृतिक विपत्तिका कारण पीडामा रहेका बेला सबैको संवेदना, सहयोग र एकताले प्रभावित परिवारमा आशाको किरण ल्याउन सक्ने भन्दै गोरेटो कन्सल्टेन्सी परिवारले सहयोगका लागि सबैमा आह्वानसमेत गरेको छ। गोरेटोले स्थापनाकालदेखि नै आपत विपत र सामाजिक काममा विभिन्न किसिमका सामाजिक कदम चाल्दै आएको छ ।

बुधबार तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी र पहिरोका कारण कैयौँ परिवार प्रभावित भएका छन् भने कतिपयले आफन्त गुमाएका छन्। प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएपछि यतिबेला सिंगो देश नै शोकमा डुबेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *