बाढीपीडितको उद्धारमा दलका कार्यकर्ता
काठमाडौं। भोटेकोशी-त्रिशूलीको बाढीले सडक र पुलमा क्षति पुर्याएपछि रसुवा र नुवाकोटका प्रभावित नागरिकसम्म राहत पुर्याउन चुनौती थपिएको छ ।
बाटो नै अवरुद्ध भएपछि उद्धारमा खटिएका टोलीलाई समेत प्रभावित बस्तीमा पुग्न कठिन भइरहेको छ ।
देशका विभिन्न भागबाट संकलन भएको राहत सामग्री नेपाली सेनाको मैथलीस्थित तालिम केन्द्रमा जम्मा गरिएको छ । सेनाले उपलब्ध सामग्री वितरण गरिरहेको भए पनि क्षतिग्रस्त सडकका कारण सबै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत पुर्याउन नसकिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
उद्धारका लागि आवश्यक जनशक्ति र साधनसमेत पर्याप्त नभएको गुनासो स्थानीय तहबाट आउन थालेको छ । कतिपय ठाउँमा पीडित नागरिक तत्काल सहयोगको पर्खाइमा रहे पनि सडक सम्पर्क विच्छेद हुँदा उद्धार तथा राहत टोलीलाई घटनास्थलसम्म पुग्नै समस्या भएको छ ।
यस्तो अवस्थामा सरकारको सहयोगी बन्न राजनीतिक दलका संगठन र स्वयंसेवकहरू पनि प्रभावित क्षेत्रमा परिचालित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय छलफलमा कांग्रेस सभापति गगन थापाले विपद्को समयमा दलगत प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
थापाले उद्धार, राहत र पुनर्निर्माणका लागि राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने धारणा राखेका थिए । सरकारको स्रोतसाधनले मात्रै ठूलो विपद् व्यवस्थापन गर्न कठिन हुने भन्दै उनले निजी क्षेत्र, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजको शक्ति पनि उपयोग गर्नुपर्ने बताएका थिए ।
कांग्रेसले आफ्ना भ्रातृ तथा शुभेच्छुक संगठनलाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार उद्धार, राहत र मानवीय सहयोगका लागि कांग्रेसका विभिन्न संरचना सक्रिय छन् ।
सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन एकद्वार प्रणालीअनुसार सहयोग गर्ने नीति लिइएको उनले बताए । रसुवाका स्थानीय नेता तथा जनप्रतिनिधिको संयोजनमा प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउने काम भइरहेको कांग्रेसको भनाइ छ ।
एमालेका नेता तथा कार्यकर्ता पनि प्रभावित क्षेत्रमा पुगेका छन् । महासचिव शंकर पोखरेलसहितको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझेको छ । एमालेका विद्यार्थी तथा युवा संगठनका स्वयंसेवकसमेत उद्धार र राहत कार्यमा खटिएका छन् ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार स्थानीय तथा जिल्ला कमिटीमार्फत प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्ने काम भइरहेको छ । कुन ठाउँमा कस्तो सहयोग आवश्यक छ भन्ने विवरण लिएर त्यसअनुसार स्वयंसेवक तथा राहत सामग्री परिचालन गरिने उनले बताए ।
बाढीले सडक, पुललगायतका पूर्वाधारमा क्षति पुर्याएपछि अहिले प्रभावित नागरिकसम्म पुग्नु नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।
राहत सामग्री संकलन भइरहे पनि त्यसलाई जोखिममा परेका परिवारसम्म छिटो पुर्याउन सरकारी संयन्त्र, राजनीतिक दल, सामाजिक संस्था र स्वयंसेवकबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।
