`

आफ्नो खाजा खर्च काटेर बाढीपीडितलाई विद्यार्थीको सहयोग

Nepal One HD १३ भदौ २०८३ १३:०९
बिशेष

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँ परिवारको घरबार उजाडिएको छ । कतिले आफन्त गुमाएका छन्, कतिपय घाइते छन् भने धेरैको रोजगारी, व्यवसाय र वर्षौँको कमाइ बाढीले बगाएको छ ।

विपत्तिको यो पीडामा देशका कुनाकाप्चाबाट सहयोगका हात अघि बढिरहेका छन् ।

यही क्रममा रौतहटको देवाही गोनाही नगरपालिका-७ स्थित मावि प्रेमपुर गोनाहीका शिक्षक र विद्यार्थीले गरेको सहयोग अहिले चर्चामा छ । रकम ठूलो छैन, तर सहयोगको भावना भने निकै ठूलो छ ।

बाढी आएको भोलिपल्ट विद्यालय खुलेपछि शिक्षकहरूबीच पीडितका लागि सहयोग गर्ने विषयमा छलफल भयो । प्रधानाध्यापक मुकेशकुमार यादवले ‘हिमाल, पहाड वा तराई जहाँका भए पनि हामी नेपाली हौँ, नेपालीलाई दुःख पर्दा एकजुट हुनुपर्छ’ भन्ने धारणा राखे ।

त्यसपछि विद्यालयका १९ शिक्षकमध्ये १४ जनाले स्वेच्छाले सहयोग रकम जुटाए । कसैले १ हजार, कसैले १ हजार ५ सय त कसैले २ हजार रुपैयाँसम्म दिए ।

शिक्षकको सहयोगमा विद्यार्थी पनि पछि हटेनन् । कक्षामा बाढीपीडितको अवस्थाबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरिएपछि कक्षा ९ का २६ विद्यार्थीले आफूले खाजा खान ल्याएको पैसाबाटै रकम छुट्याए ।

कसैले १० रुपैयाँ दिए, कसैले २० र कसैले ५० रुपैयाँ । सबैको रकम जोड्दा ४७० रुपैयाँ भयो । कक्षा ११ का विद्यार्थीले पनि खाजा खर्चबाट ४०० रुपैयाँ सहयोग गरे ।

सानो उमेरका विद्यार्थीले खाजा खान खर्च गर्ने पैसाबाट रकम बचाएर विपत्तिमा परेका नागरिकका लागि दिएको यो सहयोग सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशंसा भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक यादवका अनुसार सहयोग जुटाउन निमावि शिक्षक निरञ्जन यादवले पनि अग्रणी भूमिका खेलेका थिए ।

सहयोग रकमको सूची सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले विद्यार्थीको भावनाको प्रशंसा गरेका छन् । कतिपयले रकमभन्दा पनि विपत्तिमा अरूको पीडा महसुस गरेर सहयोग गर्ने संस्कार महत्वपूर्ण भएको बताएका छन् ।

वास्तवमा करोडौँ सहयोग गर्नेहरूका बीच यी विद्यार्थीले दिएको १०, २० र ५० रुपैयाँ सानो देखिन सक्छ । तर, आफ्नै खाजा खर्च कटाएर अरूको दुःखमा साथ दिने बालमनको भावना भने ठूलो छ ।

भोटेकोशीको बाढीले धेरैको घर र सम्पत्ति बगायो । तर रौतहटका यी शिक्षक र विद्यार्थीले देखाएको मानवीयताले विपत्तिको बीचमा पनि नेपाली समाजमा सहयोग र सहानुभूतिको भावना उत्तिकै बलियो रहेको देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *