`

‘महाविपत्तिमा सरकार र पीडित नागरिकसँगै रहन्छौँ, अन्तिम विन्दुसम्म साथ दिन्छौँ’ – गगन थापा

Nepal One HD २१ भदौ २०८३ २१:२१
नेपाली कांग्रेस

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीबाट उत्पन्न महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँ भनेर सबैलाई आश्वस्त बनाउन चाहन्छौँ भनेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको सुरुआतमा सम्बोधन गर्दै सभापति थापाले यो विपत्ति सामान्य प्राकृतिक प्रकोप नभई ठूलो मानवीय क्षति ‘महाविपत्ति’ भएको उल्लेख गर्दै उद्धार, राहत, पुनःस्थापना, पुनर्वास र पुनःनिर्माणका काममा राज्यले अधिकतम शक्ति परिचालन गर्नुपर्नेमा जोड दिए ।

“हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ, यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिकहरूसँगसँगै रहन्छौँ, हामी अन्तिम विन्दुसम्म जहाँ पुग्नुपर्ने हुन्छ, त्यहाँसम्म पीडामा रहेका नागरिकसँगसँगै रहन्छौँ र गर्न सक्ने मात्र होइन, नसक्ने काममा पनि अतिरिक्त तागत लगाएर सहयोग गर्छौँ”, उनले भने ।

सभापति थापाले बाढीमा ज्यान गुमाउनेप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरू सकुशल भेटिने आशा व्यक्त गर्दै उद्धारका क्रममा जीवित नागरिक भेटिएका घटनाले अझै आशा जीवित रहेको धारणा राखे । उनले विपत्तिपछिको अवस्थालाई विगतका प्राकृतिक विपत्तिसँग तुलना गर्न नमिल्ने भन्दै अहिले धेरै परिवारले एकैपटक आफ्ना सदस्य गुमाएको र कतिपय समुदाय नै सामूहिक शोकमा रहेको उल्लेख गरे ।

“अहिले त्यहाँ राहत, पुनःस्थापना, पुनर्वास र पुनःनिर्माणको प्रोटोकल त चाहिन्छ नै, तर त्योभन्दा पनि ठूलो कुरा अहिले त्यहाँ करुणा र सद्भाव चाहिएको छ । समानुभूति र समवेदना चाहिएको छ”, उनले भने ।

नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडित परिवारका दर्दनाक कथा सुनेको जानकारी गराउँदै सभापति थापाले कतिपय परिवारमा वृद्ध आमाबुबा, छोराछोरी तथा अन्य आफन्तलाई बाढीले बगाएको र परिवारका एक–दुई सदस्य मात्र जीवित रहेको उल्लेख गरे । उनले पीडित परिवारलाई खाद्यान्न, कपडा र अन्य भौतिक सहयोगसँगै दीर्घकालीन साथ र अभिभावकत्व आवश्यक रहेकामा जोड दिए। बाढीका कारण परिवारका सबै सदस्य गुमाएका बालबालिकाको संरक्षण राज्य र समाजको प्राथमिकतामा पर्नुपर्ने सभापति थापाको जोड छ ।

सभापति थापाले विपत्तिमा परिवार गुमाएका एक बालककी हजुरआमासँग भएको भेटको प्रसङ्ग सुनाउँदै बालकलाई शिक्षा, संरक्षण र अभिभावकत्व आवश्यक रहेको बताए । “एउटा परिवारले अर्कोलाई, अर्को परिवारले अर्कोलाई हात समाइदिनुपर्छ, यतिखेर सिङ्गो समाज र समुदायलाई नै ठूलो बज्रपात परेको छ । हात समाइदिने मान्छे चाहिएको छ”, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *