`

भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग

Nepal One HD २२ भदौ २०८३ ६:४७
अर्थ समाचार

तौलिहवा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग गर्ने भएका छन्।

पालिकाहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

केही पालिकाले रकम कोषमा जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्ने निर्णय गरेका छन्। कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगङ्गा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले रु ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन्। विजयनगर गाउँपालिकाले रु १० लाख कोषमा जम्मा गरिसकेको छ।

जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सहभागितामा पालिकाहरूले यो रकम जुटाएका हुन्। विपद्का बेला स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिरका प्रभावित नागरिकका लागि सहयोग गर्ने क्रम बढेको छ।

बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनामा सरकारले विशेष ध्यान दिनुपर्ने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए। स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको भनाइ छ।

कपिलवस्तुका अन्य चार स्थानीय तहले पनि बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन्। यसैगरी जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय, समाजसेवी तथा अन्य संघ-संस्थाले उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *