`

जेन-जी सहिदको लासमाथि रवि-बालेनको राजनीति

Nepal One HD २३ भदौ २०८३ १२:२३
अर्थ समाचार

काठमाडौं। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा ७६ जनाले ज्यान गुमाए, सयौँ घाइते भए । आन्दोलनले सरकार ढाल्यो, सत्ता फेरियो र राजनीतिमा नयाँ अनुहारहरू अगाडि आए ।

तर सहिद परिवारको जीवनमा भने खासै केही फेरिएको छैन ।

एक वर्षपछि पनि आमाहरू छोराको फोटो हेरेर रुन्छन् । श्रीमतीहरू श्रीमान्को सम्झनामा छन् । छोराछोरी अझै बाबाको बाटो हेर्छन् । आन्दोलन सकिएको छ, राजनीति अघि बढेको छ, तर उनीहरूको पिडा उस्तै छ। 

सहिद सन्तोष विश्वकर्माकी श्रीमती अमिकाको भनाइले यो पीडा कति गहिरो छ भन्ने देखाउँछ ।

‘छोरी दिनहुँ बाबालाई फोन गरिदिनू भन्छिन् । फोन नलागेपछि भगवानको घरमा भए पनि फोन लाग्छ होला भन्छिन्,’ उनी भन्छिन् ।

एउटी आमाको, एउटी श्रीमतीको वा एउटी छोरीको यो पीडालाई कुनै राजनीतिक भाषणले सम्बोधन गर्न सक्दैन । तर आन्दोलनपछि बनेको नेतृत्वले कम्तीमा उनीहरूको ढोकासम्म पुगेर दुःख सोध्न सक्छ । सहिद परिवारको गुनासो यहीँ छ, त्यो पनि हुन सकेन ।

अमिकाको असन्तुष्टि प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)प्रति छ। आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरणको नेतृत्वमा पुगेका बालेनले अहिलेसम्म सहिद परिवारलाई भेट्न नचाहेको उनको गुनासो छ ।

सहिद ईश्वत अधिकारीका बुवा ईश्वर अधिकारीसँग छोरासँग भएको अन्तिम कुराकानी अझै ताजा छ ।

‘मेरो अगाडि ६-७ जना मारिए,’ छोराले आन्दोलनमा जानुअघि भनेका थिए ।

त्यही नै अन्तिम संवाद बन्यो । त्यसपछि छोरा घर फर्किएनन् ।

एक वर्ष बित्यो । सरकार फेरियो । चुनाव भयो । नयाँ नेतृत्व आयो । तर बुवाको मनमा छोराको अन्तिम आवाज उस्तै छ । उनी अहिले पनि राज्यसँग जवाफ खोजिरहेका छन् ।

‘बालेनले हामी सहिद परिवारलाई भेट्नै चाहेनन्, श्रद्धाञ्जली पनि दिएनन्,’ उनको गुनासो छ ।

सुभाष बोहोराकी आमा कैलीदेवीको पीडा अझ फरक छ । छोरा बुढेसकालको सहारा बन्ने उमेरमा थिए । आमालाई पाल्ने जिम्मेवारी लिने सोचमा थिए । तर आन्दोलनले उनलाई खोस्यो ।

‘छोराले मलाई पाल्ने जिम्मेवारी लिन्थे । अहिले सरकारले २०–२५ हजारको जागिर दिएर मलाई झाडु–पोछा गर्न बाध्य बनायो,’ कैलीदेवी भन्छिन् ।

उनको प्रश्न पैसा कति पाइयो भन्ने मात्रै होइन । प्रश्न छोराको बलिदानको मूल्यबारे हो ।

यही ठाउँमा बालेन र रविको राजनीतिमाथि प्रश्न उठ्छ ।

जेनजी आन्दोलनको आक्रोश पुराना दल र पुरानो राजनीतिक संस्कारविरुद्ध थियो । त्यही असन्तुष्टिको बीचबाट बालेन र रवि लामिछानेजस्ता नयाँ राजनीतिक पात्रहरू बलियो बने । जनताले नयाँ नेतृत्वसँग नयाँ व्यवहारको अपेक्षा गरे ।

तर आन्दोलनमा ज्यान गुमाएका परिवारले नै नयाँ नेतृत्वसँग आफूलाई टाढा महसुस गर्न थाले भने प्रश्न उठ्नु स्वाभाविक हो ।

बालेन र रविले राजनीतिमा परिवर्तनको कुरा गरेका थिए । सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र पुरानो शैलीको अन्त्यका कुरा गरे । जनताले पनि त्यही आशामा उनीहरूलाई हेरे ।

तर शासनमा पुगेपछि परिवर्तनको पहिलो प्रमाण भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ ।

सहिद परिवारलाई भेट्ने समय नहुनु, उनीहरूको पीडा नसुन्नु र न्यायको प्रश्नलाई प्राथमिकतामा नराख्नुले नयाँ राजनीतिमाथि पनि पुरानै शैलीको आरोप लाग्न सक्छ ।

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरू कुनै दलका नेता थिएनन् । उनीहरू सामान्य परिवारका युवा थिए । कोही पढ्दै थिए, कोही काम गर्दै थिए, कोही कलाकार बन्ने सपना देख्दै थिए । उनीहरूका परिवारले आफ्ना सन्तानलाई आन्दोलनमा पठाउँदा उनीहरू कहिल्यै फर्केर आउँदैनन् भन्ने सोचेका थिएनन् ।

आज उनीहरू छैनन् । उनीहरूको ठाउँमा घरमा तस्बिर छ ।

त्यही तस्बिरको अगाडि बसेर परिवारले सोधिरहेको छ– हामीले गुमाएको मान्छेको न्याय कहाँ छ ?

राजनीतिक परिवर्तन भयो भनेर मात्र त्यो प्रश्न सकिँदैन ।

बालेनका लागि यो प्रश्न अझ गम्भीर छ । किनकि आन्दोलनपछि बनेको सरकारको नेतृत्व उनैले गरिरहेका छन् । रविका लागि पनि प्रश्न उत्तिकै महत्वपूर्ण छ । किनकि नयाँ राजनीतिको नाममा जनताको भरोसा पाएको नेतृत्वले पुरानो राजनीतिको कमजोरी दोहोर्‍यायो भने फरक के रहन्छ ?

सहिद परिवारलाई ठूलो भाषण चाहिएको छैन । उनीहरूलाई आफ्ना मान्छेको मृत्यु किन भयो भन्ने जवाफ चाहिएको छ । दोषी को हुन् भन्ने स्पष्टता चाहिएको छ । राज्यले आफूहरूलाई बिर्सेको छैन भन्ने अनुभूति चाहिएको छ ।

एक वर्षपछि पनि त्यो अनुभूति नपाएको गुनासो उनीहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *