भोटेकोसी बाढीपीडितको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन सांसद काउँचाको माग
काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद काउँचाले भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले घर, सडक र सम्पत्तिमा क्षति पुर्याउनुका साथै प्रभावित नागरिकको मनमा गहिरो चोट पुर्याएको बताइन् । बाढीको असर पीडित नागरिकमा लामो समयसम्म रहन सक्ने भन्दै उनले तत्काल मनोसामाजिक सहयोग आवश्यक रहेको बताइन् ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रका नागरिकसँगै स्थानीय तहमा कार्यरत कर्मचारीको मानसिक अवस्था पनि गम्भीर बन्दै गएको छ । अपर त्रिशूली–१ मा कार्यरत रसुवाका इन्जिनियर सुरेश सापकोटा बेपत्ता भएको र शिक्षक ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्त भएको उदाहरण दिँदै उनले विपद्पछि धेरै नागरिक तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी र डिप्रेसनलगायत समस्याबाट गुज्रिरहेको बताइन् ।
‘विपद्पछिको पुनर्स्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुनर्निर्माण गर्नु हो,’ उनले भनिन् ।
सांसद काउँचाले प्रभावित क्षेत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा आफन्त गुमाएका परिवारलाई लक्षित गरी तत्काल मनोसामाजिक कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिन् । पीडितको भविष्यप्रतिको अनिश्चितता हटाउन पुनर्स्थापना र जीविकोपार्जनको स्पष्ट योजना ल्याउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, स्थानीय आवश्यकता र संस्कृतिअनुसार योग, ध्यान तथा सामुदायिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताइन् ।
‘बाढीले मानिसको घर बगाएको छ, तर सरकारले उनीहरूको आशा बग्न दिनु हुँदैन,’ सांसद काउँचाले भनिन्, ‘भौतिक राहतसँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिई पीडित नागरिकलाई घर मात्र होइन, सुरक्षित भविष्य र बाँच्ने आत्मविश्वास पनि दिनुपर्छ ।’
