सरकारले भोटेकोसी बाढीको क्षतिको आधिकारिक तथ्यांकसमेत दिन सकेन : सांसद गुरुङ
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिको आधिकारिक तथ्यांकसमेत सरकारले सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाएकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धार टोलीको प्रशंसा गरिन् ।
उनले भोटेकोसी बाढीबाट कति जनाको मृत्यु भयो र कति बेपत्ता छन् भन्ने यकिन तथ्यांक सरकारले अझै सार्वजनिक गर्न नसकेको भन्दै नागरिकको जीवन र सम्पत्ति जोगाउन नसकेको सरकारले क्षतिको विवरणसमेत यकिन गर्न नसक्नु गम्भीर विषय भएको बताइन् ।
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको पैसा खर्च गर्न सरकारले कुन साइत कुरिरहेको छ ?’ उनले प्रश्न गरिन् ।
बाढीबाट जोगिएका प्रभावित नागरिकलाई उद्धार कोषको रकमबाट प्रत्यक्ष नगद राहत उपलब्ध गराउनुपर्ने उनको माग छ । कोषमा रकम जम्मा गरेर मात्र पीडित नागरिकले राहत नपाउने भन्दै उनले प्रभावितको खातामा पुग्ने गरी राहत वितरण गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद गुरुङले पछिल्लो समय देखिएका ग्यास अभाव र अस्पतालमा उपचार तथा प्रसूति सेवासम्बन्धी घटनालाई लिएर पनि सरकारको आलोचना गरिन् । सिंहदरबार आसपासमै ग्यास खोज्दा निराश भएका एक युवाले धोबीखोलामा हाम फालेर आत्महत्याको प्रयास गरेको घटनाबारे सरकार जानकार छ कि छैन भन्दै उनले प्रश्न गरिन् ।
‘प्रधानमन्त्रीज्यू, नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन्,’ उनले भनिन्, ‘मन्त्री त फेरिनुभयो, अब नागरिकको घरमा भएको रित्तो सिलिण्डर पनि फेरियोस् ।’
सप्तरीमा आर्थिक अभावका कारण अस्पतालबाहिरै महिलाले बच्चा जन्माउनुपरेको घटनाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । सुरक्षित मातृत्व राज्यको जिम्मेवारी भएको भन्दै आर्थिक अभावका कारण महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको उनको भनाइ छ ।
गुरुङले प्रधानमन्त्रीको नियतमाथि तत्काल शंका नगरे पनि सरकारले अपेक्षित परिणाम दिन नसकेको बताइन् । सरकार अहंकार, अज्ञानता, घेराबन्दी वा अन्य कुनै कारणले भए पनि असफलताको बाटोतर्फ गइरहेको भन्दै उनले प्रधानमन्त्रीलाई सचेत गराइन् ।
‘नागरिकले ठूलो आशा गरेका छैनन् । पैसा तिरेर ग्यास खोजेका छन्, बाढीमा परेका आफन्तको अवस्था जान्न चाहेका छन्, पीडित परिवारले राज्यबाट अभिभावकत्व खोजेका छन्,’ उनले भनिन्, ‘त्यति पनि गर्न किन सकिरहेको छैन यो सरकारले ?’
बैठकमा सांसद गुरुङले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुंगाखोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराइन् ।
हुंगाखोला र दूधकोसी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्दै उनले सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक संयन्त्र तत्काल परिचालन गर्न सरकारसँग अनुरोध गरिन् ।
