वर्षमान पुनको सरकारमाथि प्रहार : ‘आकाशको हेलिकप्टर र सिंहदरबारमा मात्र सरकार देखिन्छ’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार सुशासन, जबाफदेहिता र नागरिक सुरक्षाका सवालमा कमजोर बन्दै गएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पुनले विपद् व्यवस्थापनदेखि बजारमा देखिएको अभाव र मन्त्रीहरूको अभिव्यक्तिसम्म सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।
भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित दुर्गम क्षेत्रमा अझै पर्याप्त राहत नपुगेको दाबी गर्दै उनले सरकारको उपस्थिति काठमाडौँ र हेलिकप्टरमा मात्र सीमित भएको टिप्पणी गरे ।
‘सरकार आकाशमा हेलिकप्टर र काठमाडौँका सिंहदरबारमा मात्र देखिएको छ । बाटो छैन, पुल छैन, सञ्चार सम्पर्क छैन । पीडित जनतालाई राहतको साटो आश्वासन मात्र बाँडिएको छ,’ उनले भने ।
पुनले बाढीपहिरो पीडितको उद्धार र राहतलाई राजनीतिक भागबन्डा वा सौदाबाजीको विषय नबनाउन सरकारलाई चेतावनी दिए । विपद्ले पीडितको राजनीतिक पहिचान नहेर्ने भन्दै उनले सबै नागरिकलाई समान व्यवहार गर्न सरकारसँग माग गरे ।
उनले तत्काल राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि सरकारले स्पष्ट तीन तहको योजना सार्वजनिक गर्नुपर्ने बताए ।
जेनजी आन्दोलनतर्फ संकेत गर्दै पुनले युवाहरूले उठाएका सुशासन र अवसरका प्रश्नलाई सरकारले अपराधीकरण गर्न खोजेको आरोप लगाए । नागरिकमाथि दमन गरेर असन्तुष्टि दबाउन खोज्नु निरंकुश शैली हुने उनको भनाइ थियो ।
बजारमा ग्यास, मल तथा दैनिक उपभोग्य वस्तुको अभाव देखिँदा पनि सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको भन्दै पुनले आक्रोश व्यक्त गरे । निजी क्षेत्रलाई धम्कीपूर्ण भाषामा चेतावनी दिने मन्त्रीहरूको शैलीले लगानीको वातावरण बिगार्ने उनको दाबी थियो ।
‘यस्तो त्रासपूर्ण वातावरणमा कसरी लगानी आउँछ ? सरकार निजी क्षेत्रको सहयात्री हो कि तर्साउने निकाय ?’ उनले प्रश्न गरे ।
सप्तरीमा आर्थिक अभावका कारण उपचार नपाएर सडक पेटीमै शिशु जन्मिएको घटनालाई उनले सरकारको निःशुल्क उपचारको दाबीमाथिकै प्रश्नका रूपमा प्रस्तुत गरे ।
प्रधानमन्त्री र मन्त्रीहरूलाई संयमित भएर शासन सञ्चालन गर्न आग्रह गर्दै पुनले अहंकार र दम्भ त्याग्न चेतावनी दिए । सत्तामा सधैँ रहिरहने भ्रम नराख्न आग्रह गर्दै उनले गलत शासनशैलीको मूल्य इतिहासले असुल्ने बताए ।
