`

बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल

Nepal One HD २६ भदौ २०८३ २१:५८
राजनीति

महोत्तरी। शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताउनुभएको छ ।

आज कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास-४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उहाँले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको स्पष्ट गर्नुभयो ।

“कलेज बन्ने/नबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ । अब यसबारे धेरै चिन्ताभन्दा पनि कलेज निर्धारित समयमै बन्छ भन्नेमा सबैलाई विस्वश्त पार्न चाहन्छु”, मन्त्री पोखरेलले भन्नुभयो । यसपालिको बजेटमा कलेज निर्माणका लागि रु २५ करोड रकम विनियोजन गरिएको जनाउँदै उहाँले काम अघि बढाउन अझै रकमको सुनिश्चिततामा आपूm प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “भर्खरै मन्त्रिपरिषद्ले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बर्दिवासको अवधि एक वर्ष थपेको छ, यो कलेज बनाउन थपिएको हो । काम थाल्दै गएर सम्पन्न हुन तीन-चार वर्ष लाग्नसक्ने देखिन्छ ।”

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना बर्दिवास कार्यालयले आयोजना गरेको छलफलमा महोत्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले कलेज निर्धारित समयमा सम्पन्न गराउन वर्तमान सरकारले हरप्रयास गर्ने उल्लेख गर्नुभयो ।

मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापाले निर्धारित समयमा काम सम्पन्न गराउन आफूले सहकार्य र समन्वय गर्ने बताउनुभयो । यसैगरी बर्दिवासका नगरप्रमुख प्रहलादकुमार क्षेत्रीले प्रस्तावित ठाउँमा कलेज निर्माणका पक्षमा आमजनता रहेकाले सबैको साथसहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

छलफल कार्यक्रममा आयोजना निर्देशक देवीप्रसाद सुवेदीले अब प्रस्तावितस्थलको भोगाधिकार आफ्नो कार्यालयले पाइसकेको हुँदा रुख कटानको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को कार्यक्रममा परेर २०७५ वैशाखमा आयोजना कार्यालय स्थापना भए पनि वन क्षेत्रभित्रको प्रस्तावित जग्गाको भोगाधिकारका लागि विभिन्न निकायबाट काम सम्पादन हुन समय लाग्दा कलेज निर्माण पछि पर्दै आएको थियो ।

कलेजका लागि पहिलो चरणमा अस्पताल र प्रशासनिक भवन निर्माण चालु आवमा विनियोजित रु २५ करोडबाट थालिने आयोजना कार्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले थप रकमको सुनिश्चितता बढ्दै गएसँगै निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *