बाढीले थिलथिलो पारेका बालमनमा भरोसा जगाउँदै सोनाम डोका
काठमाडौँ । बाढीले घर, विद्यालय, आफन्त र सुरक्षित भविष्यको भरोसा गुमाएका बालबालिकाका लागि राहत भनेको खाना र कपडा उपलब्ध गराउनु मात्रै होइन, डराएको मनमा फेरि सुरक्षाको अनुभूति जगाउनु पनि हो। यही आवश्यकता मध्यनजर गर्दै सामाजिक संस्था द स्मल वल्ड (टिएसडब्ल्यू)ले रसुवाका बाढी प्रभावित बालबालिकालाई लक्षित गरी मनोसामाजिक सहयोग तथा पोषण कार्यक्रम सञ्चालन गरिरहेको छ।
टिएसडब्ल्यूकी निर्देशक सोनाम डोका शेर्पाको पहलमा काठमाडौँको एलो गुम्बास्थित होल्डिङ सेन्टरमा रहेका करिब ६० जना बालबालिकालाई लक्षित गरी ट्रमा एसिस्मेन्ट तथा मनोसामाजिक सहयोगका गतिविधि सञ्चालन भइरहेका छन्।
बाढीका क्रममा बालबालिकाले भयावह दृश्य प्रत्यक्ष देख्नुपरेको थियो। कतिपयले बाढीको वेग, घर तथा संरचना बगाएको र आफन्त तथा परिचित व्यक्तिसँग सम्बन्धित पीडादायी घटना आफ्नै आँखाअगाडि देखेका छन्। यस्तो अनुभवले तत्काल शारीरिक क्षति नदेखिए पनि बालबालिकाको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने भएकाले संस्थाले राहतसँगै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको हो।
बालबालिकालाई ‘हामी सुरक्षित छौँ’ भन्ने अनुभूति गराउने र उनीहरूमा आशा जगाउने उद्देश्यले संस्थाले ‘सेन्स अफ सेफ्टी’ अर्थात् सुरक्षित भएको अनुभूति तथा ‘नर्मल फिलिङ’ अर्थात् सामान्य अवस्थामा फर्किएको महसुस गराउने गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।
कार्यक्रमअन्तर्गत बालबालिकालाई आफ्ना अनुभव र भावना व्यक्त गर्न सहज वातावरण बनाउने, उनीहरूको व्यवहार तथा मानसिक अवस्थाको प्रारम्भिक मूल्याङ्कन गर्ने र विपद्पछिको त्रास कम गर्न सहयोग गर्ने गतिविधि भइरहेका छन्। यसका लागि आधा दर्जनभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ भने ट्रमा एसिस्मेन्टसम्बन्धी कामका लागि पनि आधा दर्जनभन्दा बढी व्यक्तिलाई तालिम दिइएको संस्थाले जनाएको छ।
सोनाम डोका शेर्पाको नेतृत्वमा भइरहेको पहल राहत वितरणमा मात्रै सीमित छैन। विपद्पछि बालबालिकाले सुरक्षित वातावरण पाऊन्, उनीहरूको दैनिक जीवन क्रमशः सामान्य बन्दै जाओस् र मानसिक आघात दीर्घकालीन समस्यामा परिणत नहोस् भन्ने उद्देश्यले मनोसामाजिक सहयोगलाई राहतकै अभिन्न हिस्सा बनाइएको छ।
होल्डिङ सेन्टरमा रहेका बालबालिकाको अर्को महत्वपूर्ण आवश्यकता पोषण हो। विस्थापनका कारण नियमित खानपानको व्यवस्था प्रभावित हुँदा बालबालिकाले आवश्यक पोषक तत्त्व नपाउने जोखिम हुन्छ। त्यसलाई ध्यानमा राख्दै टिएसडब्ल्यूले उनीहरूका लागि स्वस्थ तथा पोषिलो खानाको समेत व्यवस्था गरेको छ।
यसरी संस्थाले खाना, सुरक्षा र मानसिक स्वास्थ्यलाई एकैसाथ जोडेर बालबालिकालाई सहयोग गरिरहेको छ। कार्यक्रम अगस्टको अन्तिमतिरबाट सुरु गरिएको संस्थाले जनाएको छ।
रसुवा बाढीपछि बालबालिकाको अवस्था विशेष संवेदनशील बनेको छ। बाढी प्रभावित क्षेत्रका बालबालिकाले आफ्नै आँखाअगाडि घर, विद्यालय तथा अन्य संरचना बगेको देखेकाले उनीहरूमा मानसिक आघातको जोखिम रहेको युनिसेफले समेत जनाएको छ। बाढी प्रभावित बालबालिकामा रोग, कुपोषण, हिंसा तथा शोषणको जोखिम बढ्न सक्ने भएकाले उनीहरूलाई मनोसामाजिक परामर्श आवश्यक रहेको युनिसेफको भनाइ छ।
यही संवेदनशील अवस्थाबीच टिएसडब्ल्यूको हस्तक्षेपलाई तत्कालीन राहतसँगै बालबालिकाको पुनःस्थापना र आत्मविश्वास पुनर्निर्माणतर्फको प्रयासका रूपमा हेरिएको छ। विपद्मा तत्काल शरीर बचाउने प्रयास गरिए पनि त्यसपछि बालमनलाई सुरक्षित र बलियो बनाउने काम पनि उत्तिकै आवश्यक हुने जानकारहरू बताउँछन्।
रसुवा बाढीपीडितलाई द स्मल वल्डको सहयोग
द स्मल वल्डले रसुवामा बाढीबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा आवासका लागि आवश्यक सामग्री सहयोग गरेको छ। संस्थाले रसुवा तथा नुवाकोटको त्रिशूली, बेत्रावतीलगायतका प्रभावित क्षेत्रमा पुगेर परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको हो। सहयोगमा खाद्यान्न, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक कपडालगायतका सामग्री छन्।
बाढीका कारण घर तथा दैनिक जीवनका अत्यावश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गर्दै विदुर नगरपालिकासँगको समन्वयमा तीन सयभन्दा बढी परिवारलाई बासका लागि आवश्यक एक–एक सेट सामग्री उपलब्ध गराउने तयारीसमेत गरिएको संस्थाले जनाएको छ।
विपद्का बेला राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावित परिवारसम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग समन्वय गरेर राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाका संस्थापक अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो। संस्थाले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी त्यसैअनुसार सामग्री वितरणलाई प्राथमिकता दिएको जनाएको छ।
टिएसडब्ल्यूले राहतका लागि अमेरिकामा रहेका विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेको हो। विदेशबाट प्राप्त सहयोग नेपालमा परिचालन गर्न समाज कल्याण परिषद्को स्वीकृति तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।
बाढी तथा पहिरोजस्ता विपद्का कारण घर, खाद्यान्न, कपडा तथा दैनिक जीवनका आवश्यक सामग्री गुमाएका परिवारलाई तत्कालीन राहतसँगै पुनःस्थापनाका लागि आवश्यक सहयोगमा समेत संस्थाले जोड दिएको छ।
