`

राजेन्द्र लिङ्देनको ‘हैकमवादी शैली’विरुद्ध सांसद-मन्त्रीकाे विद्रोह !

चिना श्रेष्ठ ३० भदौ २०८३ १५:४७
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति बागमती प्रदेशका मन्त्री तथा सांसदहरूले कडा असन्तुष्टि जनाएका छन् । अध्यक्ष लिङ्देनले पार्टीभित्र ‘हैकमवादी’ र ‘निरंकुश’ शैली अपनाएको भन्दै उनीहरूले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित प्रदेशका मन्त्री तथा सांसदहरूले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष लिङ्देनलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । उनीहरूले बुझाउने ज्ञापनपत्र दबाबपत्रकै रूपमा रहेको बताएका छन् ।

दलका नेता उद्धव थापाले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा आफूहरू एकजुट भएको बताए ।

‘अध्यक्ष लिङ्देनको जुन केन्द्रित सोच देखियो, जुन निरंकुश शैली देखियो, यो हामीलाई सह्य छैन,’ थापाले भने, ‘अध्यक्षको यस्तो शैलीको हामी सशक्त प्रतिवाद गर्छौं ।’

बागमती प्रदेशका स्वास्थ्यमन्त्री गिरबहादुर तामाङले पनि अध्यक्ष लिङ्देनको शैली गलत भएको बताएका छन् । उनले पार्टीभित्रको समस्या नसच्याए राप्रपाको एकतामाथि नै प्रश्न उठ्ने चेतावनी दिए ।

‘अध्यक्षज्यू, जे गर्दै हुनुहुन्छ र उहाँले हामीलाई जसरी कारबाही गर्ने प्रयास गर्नुभयो, त्यो ठीक थिएन,’ तामाङले भने, ‘यसको हामी सशक्त विरोध गर्छौं ।’

बागमती प्रदेशमा यही भदौ पहिलो साता एमाले सांसद किरण थापा मगर मुख्यमन्त्री बनेपछि राप्रपाभित्र विवाद चर्किएको हो । नेपाली कम्युनिस्ट पार्टीसँग देशभरका प्रदेशमा सत्ता गठबन्धन भए पनि बागमतीमा दुई दलको बहुमत पुगेन । त्यसपछि राप्रपा संसदीय दलका नेता उद्धव थापा, गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिले मुख्यमन्त्री थापा मगरलाई समर्थन गरेका थिए ।

उनीहरूको समर्थनकै कारण प्रदेश मध्यावधि निर्वाचनमा जानबाट जोगिएको उनीहरूको दाबी छ । तर, राप्रपा अध्यक्ष लिङ्देनले भने पार्टीको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै थापासहित तामाङ, विष्ट र प्रजापतिमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।

लिङ्देनले उनीहरूलाई कारबाही गर्दै पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्राचार गरेका थिए । तर, राप्रपाका महामन्त्रीसमेत रहेका बागमती प्रदेश सभामुख भुवन पाठकले राजीनामा दिइसकेको अवस्था र उपसभामुख रहेकी एमालेकी अप्सरा चापागाईंले लिङ्देनको सिफारिसअनुसार कारबाही नगरेपछि अध्यक्षको प्रयास तत्काल सफल हुन सकेन ।

यसबीच मुख्यमन्त्री थापा मगरले राप्रपा संसदीय दलका नेता उद्धव थापाबाहेक बाँकी तीन जनालाई प्रदेश सरकारमा मन्त्री बनाएपछि विवाद थप चर्किएको हो ।

राप्रपा अध्यक्ष लिङ्देन भने पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको विषयलाई लिएर थप आक्रोशित बनेका छन् । प्रदेशका नेता तथा मन्त्रीहरूले भने अध्यक्षको कारबाही शैली र पार्टी सञ्चालनको तौरतरिकामाथि नै प्रश्न उठाउँदै प्रतिवाद गर्ने तयारी गरेका छन् ।

राप्रपा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा रहेको पार्टी हो । तर, अध्यक्ष लिङ्देन स्वयं ३ माघ २०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बनेका थिए । गणतन्त्रात्मक व्यवस्थाको सरकारमा करिब ४० दिन मन्त्री बनेका लिङ्देनमाथि अहिले प्रदेशका नेताहरूले समेत उनको विगतको राजनीतिक व्यवहार र अहिलेको कार्यशैलीबीचको विरोधाभासबारे प्रश्न उठाउन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *