खुश्बुको सरकारलाई प्रश्न -‘के यो न्यायोचित हो?’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले तराई-मधेसमा बढ्दै गएको धार्मिक तनाव, महँगी, कालोबजारी र अवैध गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले धार्मिक द्वन्द्वका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा बजारमा भइरहेको मनपरी नियन्त्रण गर्न सरकारसँग माग गरिन्।
उनले केही समययता तराई–मधेसमा भएका धार्मिक द्वन्द्वका घटनाले मानवीय क्षति हुनुका साथै सामाजिक सद्भावमै प्रश्न उठाएको बताइन्।
‘धार्मिक द्वन्द्व र हिंसाले देशलाई कहाँ पुर्याउँछ ? सरकारले उक्त घटनाको प्रतिवेदन सार्वजनिक गरी दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भनिन्।
ओलीले तराई–मधेसमा सनातन हिन्दु आस्था बोकेका युवाहरूलाई धरपकड गरिएको भन्दै त्यसप्रति समेत प्रश्न उठाइन्। राज्यले कुनै पनि समुदाय वा आस्थामाथि विभेद गर्न नहुने उनको भनाइ थियो।
‘के यो न्यायोचित हो ? यसले थप द्वन्द्व र टकरावको बीउ रोपेको छैन ?’ उनले प्रश्न गरिन्।
प्रमुख सचेतक ओलीले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको बजार अनुगमनमाथि प्रश्न उठाइन्।
खसीको मासु, चामल, चिनी लगायतका अत्यावश्यक वस्तुको मूल्य आकासिँदा त्यसको प्रत्यक्ष मार न्यून आय भएका नागरिकमाथि परेको उनले बताइन्।
‘खसीको मासु, चामल, चिनी लगायतका अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ। यो महँगीले गरिब जनतालाई कसरी बाँच्ने भन्ने चिन्ता थपेको छ,’ उनले भनिन्।
उनले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र उपभोक्तालाई ठगी गर्ने व्यवसायीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरिन्। चाडपर्वको मौका छोपेर बजारमा मनपरी हुन नदिन प्रभावकारी अनुगमन आवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै, तराईका विभिन्न नाकाबाट भइरहेको गौ-तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणमा समेत सरकार गम्भीर बन्नुपर्ने उनले बताइन्।
सांसद ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयबाट जारी भएको विज्ञप्तिको विषयलाई समेत प्रतिनिधिसभामा उठाइन्।
उक्त विज्ञप्तिले हिन्दु धर्म तथा परम्परामाथि प्रहार गरेको आरोप लगाउँदै उनले यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा थप असर पार्न सक्ने बताइन्।
‘के यो सरकारको अभिव्यक्ति र आचरणले नागरिकलाई आजित बनाएको छैन ? हिन्दु परम्परामाथि प्रहार गरेर के देशको हित हुन्छ ?’ उनले प्रश्न गरिन्।
उनले सरकारमा रहेका मन्त्री तथा राजनीतिक नेतृत्वबाट आउने अभिव्यक्तिमा संयमता आवश्यक रहेको बताउँदै सबै धर्म, संस्कृति र समुदायको सम्मान हुने वातावरण निर्माण गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।
‘सबै धर्म र संस्कृतिको सम्मान गर्दै देशको गौरव बचाउन सरकारले आफ्नो आँखा र कान खोल्नुपर्छ,’ ओलीले भनिन्।
उनले सरकारको पछिल्लो कार्यशैली तथा विभिन्न मन्त्रालयको कामकारबाहीप्रति समेत असन्तुष्टि जनाउँदै शान्ति-सुव्यवस्था कायम गर्न, धार्मिक सद्भाव जोगाउन र महँगी तथा कालोबजारी नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई आग्रह गरिन्।
