एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित
टोकियो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै मङ्गलबार विश्वभरका प्रमुख सेयर बजारमा पनि दबाब देखिएको छ ।
युरोपमा फ्रान्सको सिएसी ४० सूचकाङ्क प्रारम्भिक कारोबारमा शून्य दशमलव आठ प्रतिशतले घटेर आठ हजार ५५ दशमलव ८६ अङ्कमा झरेको छ । जर्मनीको डिएक्स शून्य दशमलव आठ प्रतिशतले घटेर २५ हजार २४८ दशमलव ७५ अङ्कमा पुगेको छ भने बेलायतको एफटिएसइ १०० करिब शून्य दशमलव आठ प्रतिशतले घटेर दश हजार ६१५ दशमलव ४५ अङ्कमा सीमित भएको छ ।
अमेरिकी सेयर बजारमा पनि गिरावटको सङ्केत देखिएको छ । डाउ फ्युचर्स शून्य दशमलव सात प्रतिशतले घटेर ५२ हजार ५०५ अङ्कमा रहँदा एस एन्ड पी ५०० फ्युचर्स शून्य दशमलव छ प्रतिशतले घटेर सात हजार ६५० दशमलव ५० अङ्कमा झरेको छ ।
एसियामा जापानको प्रमुख सूचकाङ्क निक्केई २२५ बिहानी कारोबारमा उकालो लागे पनि दिउँसोको कारोबारमा उक्त वृद्धि गुमाएको थियो । सूचकाङ्क अन्ततः शून्य दशमलव एक प्रतिशतभन्दा कमले घटेर ६३ हजार ४८४ दशमलव १० अङ्कमा बन्द भयो ।
ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्टबैङ्क ग्रुपको सेयर भने टोकियोमा सात दशमलव पाँच प्रतिशतले बढेको छ । यससँगै कम्पनीले अघिल्लो दिनको गिरावट पूर्ति गरेको छ ।
एआई क्षेत्रमा देखिएको बजार दबाब ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढेको हो । उहाँले ‘फच्र्युन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रिटमा सेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनुभएको थियो । यसले सफ्टबैङ्क तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताले ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ ।
अन्य एसियाली बजारमा पनि गिरावट देखिएको छ । अस्ट्रेलियाको एसएण्डपि÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर आठ हजार ६७२ दशमलव ५० अङ्कमा झरेको छ । दक्षिण कोरियाको कोस्पी शून्य दशमलव नौ प्रतिशतले घटेर छ हजार ६२७ दशमलव २६ अङ्कमा पुगेको छ । हङकङको ह्याङ सेङ एक प्रतिशतले घटेर २४ हजार ६६७ दशमलव २४ अङ्कमा झरेको छ भने चीनको साङ्घाई कम्पोजिट शून्य दशमलव पाँच प्रतिशतले घटेर तीन हजार ८६४ दशमलव २८ अङ्कमा सीमित भएको छ ।
एआई प्रविधिमा अत्यधिक उत्साहका कारण यस क्षेत्रका कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा बढेको हुनसक्ने चिन्ताले पनि लगानीकर्ताको धारणा प्रभावित गरेको छ । एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
मिजुहो बैङ्कका विश्लेषक एनजी जिङ वेनले एक प्रतिवेदनमा अमेरिकी कम्पनीबीच तथा अमेरिका र चीनबीच जारी तीव्र प्रतिस्पर्धालाई हेर्दा एआई विकासको गति समन्वयात्मक रूपमा सुस्त बनाउने सम्भावना अझै अनिश्चित रहेको बताउनुभएको छ ।
यसैबीच, एन्थ्रोपिकका सीइओ डारियो अमोडेईले एआईको विकासमा जानाजानी र विश्वव्यापी रूपमा केही सुस्तता ल्याउनुपर्ने आह्वान गर्नुभएको छ । उहाँका टिप्पणीले पनि एआई क्षेत्रमा बढ्दो मूल्याङ्कन र विकासको गतिबारे लगानीकर्ताको चिन्ता थप बढाएको छ ।
तेलको मूल्यमा वृद्धि
ऊर्जा बजारमा भने कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव १९ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ दशमलव ६१ डलर पुगेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य पनि दुई दशमलव १३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ दशमलव ९३ डलर पुगेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध जारी रहेकाले तेलको मूल्यमा दबाब परेको हो ।
दुई क्षेत्रीय अधिकारीले ‘एसोसिएटेड प्रेस’लाई दिएको जानकारीअनुसार, गत साता भएको आक्रमणपछि साउदी अरबको एउटा महत्त्वपूर्ण तेल पाइपलाइन आगामी केही हप्तासम्म अधिकांश समय बन्द रहनेछ । उक्त पाइपलाइनले साउदी अरबलाई तेल निर्यात लाल सागरतर्फ सार्दै फारसको खाडीस्थित स्ट्रेट अफ हर्मुजलाई छल्ने विकल्प प्रदान गर्दै आएको थियो ।
स्ट्रेट अफ होर्मुजमा इरानी आक्रमणका कारण तेल ट्याङ्करको आवागमन अवरुद्ध भएपछि विश्वव्यापी तेल आपूर्तिप्रति चिन्ता बढेको छ ।
मुद्रा बजारमा अमेरिकी डलर १५४ दशमलव ३० येनबाट बढेर १५४ दशमलव ९९ जापानी येन पुगेको छ । युरोको मूल्य भने एक दशमलव १५५७डलरबाट घटेर एक दशमलव १५३३ डलरमा झरेको छ
