आरआरका २८९ विद्यार्थीको आन्तरिक मूल्यांकन अंक गायब
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा बीए चौथो वर्ष अध्ययनरत विद्यार्थीको नतिजामा एउटै विषयको आन्तरिक मूल्यांकन अंक नदेखिएपछि छानबिन र नतिजा सच्याउन माग गरिएको छ।
विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक नतिजा पोर्टलमा रोल नम्बर ६००४००००१ देखि ६००४०१००० सम्म परीक्षण गर्दा २८९ अभिलेखमा एनपीएस ४०४ ‘नेपाल अध्ययन’ विषयको लिखित परीक्षाको अंक देखिए पनि ३० पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा ‘अनुपस्थित’ उल्लेख भएको दाबी गरेका छन्।
विद्यार्थीहरूले यो समस्या आफूहरू व्यक्तिगत रूपमा अनुपस्थित भएको भन्दा आन्तरिक अंक बुझाउने, प्रविष्ट गर्ने वा प्रणालीमा राख्ने क्रममा भएको त्रुटि हुनसक्ने बताएका छन्।
उनीहरूले क्याम्पस र त्रिवि परीक्षा नियन्त्रण कार्यालयसँग सम्बन्धित अभिलेख जाँच गरी वास्तविक आन्तरिक अंक समावेश गर्न र नतिजा सच्याउन माग गरेका छन्।
साथै शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत समस्या समाधानमा सहजीकरण गर्नुपर्ने उनीहरूको माग छ।
आन्तरिक अंक छुटेका कारण शैक्षिक भविष्य प्रभावित हुनसक्ने भन्दै विद्यार्थीहरूले तत्काल छानबिन गरी आधिकारिक सूचना सार्वजनिक गर्न आग्रह गरेका छन्।
