ज्ञानेन्द्र शाहीको कटाक्ष- ‘भ्रष्टाचारी र कारबाही गर्छु भन्नेहरू एउटै टेबलमा’
काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको कार्यक्रमलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत शाहीले विगतका राजनीतिक घटनाक्रमलाई जोड्दै संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सहभागी राजनीतिक नेतृत्वप्रति प्रश्न उठाएका हुन्।
उनले एक पक्षले ‘नयाँ नेपाल बनाउँछु’ भन्दै देशलाई १० वर्ष द्वन्द्वमा धकेलेको र त्यस क्रममा १७ हजार मानिसको ज्यान गएको दाबी गरेका छन्। देशका भौतिक संरचना ध्वस्त भएको तथा अहिले ८० लाखभन्दा बढी नेपाली विदेशमा काम गर्न बाध्य भएको उनको भनाइ छ।
त्यस्तै, अर्को पक्षले ‘भ्रष्टाचारीलाई जेल हाल्छु, संविधान संशोधन गर्छु’ भन्दै अघि बढेको तर त्यस क्रममा ७६ जना ‘जेन्जी’ युवाको ज्यान गएको शाहीले उल्लेख गरेका छन्।
शाहीले सामाजिक सञ्जालमा लेखेका छन् –
एउटाले ‘नयाँ नेपाल बनाउँछु’ भन्यो—१७ हजार मान्छे मरे, दस वर्ष देश द्वन्द्वमा धकेलियो, देशका भौतिक संरचना ध्वस्त भए। आज ८० लाखभन्दा बढी नेपाली विदेशमा काम गर्न बाध्य छन्।अर्काले ‘भ्रष्टाचारीलाई जेल हाल्छु, संविधान संशोधन गर्छु’ भन्यो ७६ जना जेन्जी युवाको ज्यान गयो। देश खरानी भयो।
तर आज न भ्रष्टाचारी जेल परे, न संविधान संशोधन भयो,
बरु भ्रष्टाचारीहरू र ‘भ्रष्टाचारीलाई कारबाही गर्छु’ भन्दै देश खरानी बनाउनेहरू आज शीतल निवासमा
एउटै टेबलमा बसेर मजा लिइरहेका छन्
सत्य तीतो हुन्छ, यथार्थ यही हो।
